काठमाडौं– एक महिनापछि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपालको प्रारम्भिक टिम घोषणा गरिएको छ। पहिलो चरणको टिममा छनोट भएका २१ खेलाडीमा युवा खेलाडीको बाहुल्य छ। यद्यपी लामो समयदेखि राष्ट्रिय टिममा पर्दै आएका विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारी र अलराउन्डर सागर पुन प्रारम्भिक टिममै पर्न असफल भएका छन्।
नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमाटाका नेपालले शुक्रबारबाट तयारी थाल्नेछ। पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागी हुने २१ खेलाडी छनोटको आधार डब्लुसिएल च्याम्पियनसिपको सातौं चरण, यू १९ एसिया कप र एभरेस्ट प्रमियर लिग (इपिएल) भएको उनले बताए। 'पछिल्ला प्रतियोगितामा राम्रो खेलेका नयाँ अनुहार पनि टिममा छन्। प्रशिक्षक, कप्तान र उपकप्तानसँगको सल्लाहपछि खेलाडी छनोट गरेका हौं,' टमाटाले भने।
नेपालमा १५ दिन प्रशिक्षण गरेपछि राष्ट्रिय टिम घोषणा गरिनेछ। त्यसपछि नेपालले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्नेछ। दक्षिण अफ्रिकामा कम्तिमा ३ वटा अभ्यास खेल्ने नेपाली टिम त्यहाँ १० देखि १२ दिन बस्नेछ र सिधैं नामिबिया जानेछ।
नेपाली टिममा यसअघि पनि काम गरिसकेकाले मोन्टी देसाईलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको छ।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरी ८ देखि १५ सम्महुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ का शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।
नेपालसहित युएई, नामिबिया र केन्या विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपबाट शीर्ष चारमा पर्न नसकेपछि डिभिजन–२ मा झरेका हुन्। क्यानडा र ओमान भने डिभिजन–३ बाट उक्लिएका टिम हुन्।
डिभिजन–२ बाट २ टिम छनोट भएसँगै एकदिवसीय विश्वकप छनोट खेल्ने १० टिमको टुंगो लाग्नेछ। मार्चमा हुने छनोटका लागि डब्लुसिएल च्याम्पियनसिपबाट नेदरल्यान्ड्स, स्कटल्यान्ड, पपुवा न्युगिनी र हङकङ छनोट भएका थिए। यस्तै जिम्बावेसहित वेस्ट इन्डिज, अफगानिस्तान र आयरल्यान्डले प्रतिस्पर्धा गर्दै छन्। १० टिमको प्रतिस्पर्धाबाट शीर्ष २ टिम सन् २०१९ को विश्वकपमा छनोट हुनेछन्। विश्वकपमा ८ टिम यसअघि नै छानिइसकेका छन्।
पहिलो चरणको टिम
अनिलकुमार साह
बसन्त रेग्मी
दिलीप नाथ
दीपेन्द्रसिंह ऐरी
दिपेस श्रेष्ठ
करण केसी
ज्ञानेन्द्र मल्ल
किशोर महतो
ललितसिंह भण्डारी
ललितनारायण राजवंशी
मोहमद आरिफ शेख
पारस खड्का (कप्तान)
रोहित कुमार पौडेल
रसिद खान
सन्दीप लामिछाने
शक्तिप्रसाद गौचन
शरद भेषावकर
सिद्धान्त लोहनी
सोमपाल कामी
सुनील धमला
सुशन भारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।