सिंगापुर – नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरबीच पेशागत समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता अन्तर्राष्ट्रिय ओरल हेल्थ कांग्रेस २०२५ को अवसरमा सिंगापुरको सिगेल्था एकेडेमियामा सम्पन्न भएको हो ।
सम्झौतामा दुवै देशका दन्त चिकित्सा पेशाकर्मीहरूबीच सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ८ वटा बुँदाहरू समावेश गरिएको छ । जसमा दुवै देशमा आयोजना हुने कार्यक्रमहरूमा सहभागिता, प्राविधिक सहयोग, पेशागत ज्ञान र सीप आदानप्रदान, साथै अन्य सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ । यो सम्झौताले नेपाल र सिंगापुरका दन्त चिकित्सा क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
सम्झौतामा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको तर्फबाट अध्यक्ष माइकल देवकोटा र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरको तर्फबाट अध्यक्ष टी। इथेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा दुवै पक्षले यो सम्झौताले दन्त चिकित्सा क्षेत्रमा पेशागत विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
यो सम्झौताले नेपाल र सिंगापुरका दन्त चिकित्सा पेशाकर्मीहरूलाई एकअर्काको अनुभव र प्राविधिक दक्षताबाट लाभ लिन मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । साथै, यसले दुवै देशमा ओरल हेल्थ सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।