रामेछाप – मन्थली नगरपालिका–६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुलको बीच भाग (स्ल्याब) भाँचिएकाे छ।
आज बिहान पुलको स्ल्याब भाँचिएको हो। यसअघि पुल निमार्णको काम अन्तिम चरणमा पुगेका बेला कुनौरी तर्फ पर्ने एउटा स्ल्याब भाँचिएको थियो।
सडक विभागको पुल शाखाले २०७८/०७९ मा टेण्डर आह्वान गरेसँगै कालिका कल्पवृक्ष जेभीले २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा २०८२ साल भदौ महिना भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। दुई सय ३० मिटर लामो पुलको चौडाई ११ मिटरको रहेको छ।
निमार्णाधीन पुल सदरमुकाम मन्थली हुँदै क्षेत्र नम्बर २ को खाँडादेवी, दोरम्वा शैलुङ्ग र सुनापति गाउँपालिकासँग प्रत्यक्ष जोडिन्छ। तामाकोशी नदीको पुल भाँचिएसँगै मापदण्डको विषय उठेको मन्थली नगरपालिका–७ भटौलीका रामचन्द्र शर्माले बताए।
यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ। डिजाइन एन्ड विल्ड प्रकृतिको यो पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर छ।
पुल निर्माण गर्न भ्याट र पीएस आइटम बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। उक्त रकममध्ये ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेको छ।
यो पुल निर्माण पश्चात् लामो दुरीमा मन्थली खुर्कोट हुँदै काठमाडौंसम्म आउन र छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौलीसहित खाँडादेवी, दोरम्बा र शैलुङ गाउँपालिकाका विभिन्न वडामा पुग्न सहज हुने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।