काठमाडौं– सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ।
आइतबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
नेपाललाई जित दिलाउन प्रशिद्धले अविजित रहँदै ५५ रन बनाए। ९७ बल खेलेका उनले ५ चौका प्रहार गरे।
रैनकले भने ४४ बलमा ५ चौका र १ छक्कासहित ४० रनको योगदान दिए। अन्य ब्याटरको भने राम्रो प्रदर्शन हुन सकेन।
सिंगापुरका युभान पाण्डेले १ विकेट लिए।
त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको सिगांपुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो।
सिंगापुरका कप्तान रियान नायकले सर्वाधिक ५३ रन बनाए। ५३ बलमा उनले ९ चौका प्रहार गरे। ओपनर आहान भुधानभाम ३८ र अर्का ओपनर रोशन अरुन ११ रनमा आउट भए।
नेपालका कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले १ मेडनसहित ३४ रन खर्चिए।
सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।