काठमाडौं– गाजापट्टीमा राहत स्वरुप बाँड्न लागिएको खाद्यान्न लिन जाँदै गरेका मानिसमाथि गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
एसोसिएट प्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इजरायली सेनाले गोली चलाएको उल्लेख गरेको छ । तर इजरायली सेनाले भने संक्षिप्त विज्ञप्ति जारी गर्दै भनेको छ, 'हामीलाई मानवीय सहायता वितरण स्थलमा इजरायली सेनाको गोलीबारीबाट घाइते भएको कुनै जानकारी अहिलेसम्म छैन । यो विषय हाल अनुसन्धानमा छ ।'
अलजजिराले भने उक्त घटनामा कम्तीमा ३९ जनाको मृत्यु भएको उल्लेख गरेको छ । ती सहायता वितरण केन्द्रहरू इजरायली सैन्य नियन्त्रणमा रहेका क्षेत्रमा रहेको र त्यहाँ अन्यको पहुँच कमजोर भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनास्थल गाजाको दक्षिणी र मध्य भागस्थित राफाहमा पर्दछ ।
हमासले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सम्झौतामा केही परिवर्तनको माग गरेको छ । तर मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफले समूहको प्रतिक्रिया स्वीकार्य नभएको उल्लेख गरेका छन् । यो पृष्ठभूमिमा गाजापट्टीमा झनै धेरै मानवीय संकट उत्पन्न हुने देखिन्छ ।
शुक्रबारमात्रै संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले गाजामा हालसम्मकै गम्भीर संकट उत्पन्न भएको जनाएको छ ।
हमासले इजरायलमा २०२३ अक्टोबर ७ मा आक्रमण गरेपछि २० महिनादेखि जारी युद्धका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका छन् भने निरन्तर बम आक्रमणका कारण कुपोषण सिर्जना भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।