एजेन्सी – देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले दुई वर्षदेखि व्यापारको आधारमा फिल्मलाई ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ घोषणा गर्दै आइरहेको छ।
कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यूएफएक्सले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई ‘सुपरहिट’को मान्यता दिएको थियो।
करिब ७ महिनापछि क्यूएफएक्स चेनले अर्को नेपाली फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको छ। त्यो फिल्म हो, ‘ऊनको स्वीटर’। क्यूएफएक्सले सोमबार यो फिल्मलाई उक्त ट्याग दिएको हो। यसको अर्थ फिल्मले पहिलो सातामा यो चेनमा डेढ करोडमाथि कमाइ गरेको छ। यसले फिल्मको सफलतालाई दर्शाउँछ। अहिलेसम्म फिल्मको देशव्यापी कमाइ आठ करोड नाघिसकेको छ।
यस वर्षको पहिलो हिट फिल्म बनेको ‘ऊनको स्वीटर’ले व्यावसायिक सफलता प्राप्त गर्नुमा गीतसंगीतको भूमिका महत्त्वपूर्ण मानिएको छ। यसमा समावेश सबै गीत दर्शकमाझ लोकप्रिय हुँदा त्यसको प्रभाव व्यापारमा देखियो। सुरुवातका केही दिन गीतले युवापुस्ताका दर्शकलाई हलसम्म तानेको थियो। र, ‘वर्ड अफ माउथ’ पनि बलियो भइदिँदा फिल्मको व्यापारमा ‘चार चाँद’ लाग्यो।
प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दा पनि फिल्मको देशव्यापी शो उत्साहजनक छ। लगभग डेढ सय शो फिल्मले ‘होल्ड’ गरेको छ। र, प्राप्त शोमा अकुपेन्सी पनि सुखद् छ। फिल्मको व्यापारिक रफ्तार हेर्दा ‘लाइफटाइम कलेक्सन’ १० करोड पुग्न सक्ने देखिन्छ। नेपालमा फिल्मले राम्रो व्यापार गरेपछि यतिबेला विदेशमा समेत माग बढेको छ। अहिले थुप्रै देशमा फिल्म प्रदर्शन भैरहेको छ।
नवीन चौहानको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय छ। अन्तरजातीय प्रेमकथामा आधारित रहेको फिल्ममा सुजन चापागाईंको संगीत छ। यसमा समाविष्ट तीन गीत ‘मखमली’, ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’ र ‘फूल’ अहिले चर्चामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।