बागलुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता भएको बताएका छन् ।
बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने समेत बताए ।
ताराखोला गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताए ।
“सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ”, उनले भने, “स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण छ ।”
भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उनले बताए । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्य अनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्ष अघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो ।
पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।