काठमाडौं – मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा मानसिक स्वास्थ्य कार्याशाला गरिएको छ । नेपाल युनाइट्स, यूथ इनिसिएटिभ, गैरसरकारी संस्था महासंघ, सोसल इम्प्याक्ट र नेपाल डेभलपमेन्ट इनिसियटिभ (एनईडीआई) को सहकार्यमा कार्यशाला आयोजना गरिएको हो ।
बुद्धनगरस्थित गैरसरकारी संस्था महासंघको सभाहलमा ‘मानसिक स्वास्थ्य र भलाइ’सम्बन्धी एक दिवसीय कार्यशालामा देशका सातै प्रदेशबाट आएका करिब ३० जना युवा सहभागी थिए ।
क्यानडाबाट आएका निहाल कुमार सिंहद्वारा सञ्चालित पहिलो सत्रमा ‘भ्रम र यथार्थ” शीर्षक अन्तर्गत डिजिटल उपकरण प्रयोग गरेर अन्तरक्रियात्मक प्रस्तुति दिइयो । सत्रमा मानसिक स्वास्थ्यको परिभाषा, सामना गर्ने उपाय, कसरी सहयोग गर्ने, परिवार,समाज र संस्कृतिको भूमिका लगायत विषय समेटिएको थियो । सत्रको अन्त्यमा सहभागीहरूले जीवनका तीनवटा कृतज्ञता व्यक्त गर्ने अभ्यास गरे, जसले उनीहरूलाई सहज र सकारात्मक महसुस गरायो। सत्र “इट्स ओके टू नट फिल ओके” भन्ने सन्देशसहित समापन भयो ।
दोस्रो सत्रमा यूथ इनिसियटिभका महासचिव योगेश काफ्लेले शटेक योर इमोसनल टेम्प्रेचर” अभ्यास गराउँदै जोन्स अफ रेगुलेसन अवधारणामार्फत विचार, भावना र व्यवहारबीचको सम्बन्ध प्रस्ट पारे ।
डा. गोपाल ढकालको अन्तिम सत्र ध्यान अभ्यासबाट सुरु भयो । उनले नेपालको मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौतीहरू र सुधारका उपायहरूबारे विश्लेषण गरे ।
मानसिक स्वास्थ्य जागरूकता महिनाको सुरुवात सन् १९४९ मा संयुक्त राज्य अमेरिकामा मेन्टल हेल्थ अमेरिका (एमएचए)द्वारा सुरु गरिएको हो । यसको उद्देश्य मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउनु, कलंक हटाउनु र भलाइ प्रवर्द्धन गर्नु हो । सन् २०२५ को मेन्टल हेल्थ अमेरिका (एमएचए) द्वारा घोषित वैश्विक नाराः ‘सचेतनालाई क्रियामा रूपान्तरण गरौँ’ ले मानसिक स्वास्थ्यमा व्यवहारिक परिवर्तनको आवश्यकता औंल्याउँछ ।
यसै सन्देशलाई आत्मसात् गर्दै आज कार्यक्रमको सुरुवात यूथ इनिसिएटिभकी सचिव सुश्मिता यादवद्वारा स्वागत मन्तव्यबाट भएको थियो । त्यसपछिका उद्घाटन मन्तव्यमा गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले नेपाली युवाबीच बढ्दो मानसिक स्वास्थ्य समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नु आवश्यक रहेको बताए ।
युवाहरूलाई परिवर्तनका संवाहक र नीतिगत वकालतकर्ता बन्न आह्वान गर्दै यूथ इनिसिएटिभका अध्यक्ष गङ्गा बहादुर गौतम (पवन) र नेपाल युनाइट्सका निर्देशक मोहम्मद रहमानबाट कार्यक्रमको समापन गरिएकद् थियो । सहभागीहरूलाई प्रेरित र उत्साहित बनाउदै सहभागी रबीको साङ्गीतिक प्रस्तुति (गितार र गायन) समेत गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।