एजेन्सी– इजरायलले १० हप्ताको नाकाबन्दी अन्त्य गर्दै गाजा क्षेत्रमा आवश्यक मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको छ ।
१० हप्ताको कठोर नाकाबन्दीपछि इजरायलले गाजामा भोकमरी संकट नहोस् भन्ने सुनिश्चित गर्न आवश्यक मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको हो । यो निर्णय इजरायली रक्षा बलको सिफारिस र हमास विरुद्ध पुनः सुरु गरिएको सैनिक आक्रमणलाई सहयोग पुर्याउने उद्देश्यले लिएको प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
नाकाबन्दीका क्रममा कुनै पनि खाद्यान्न, इन्धन वा औषधि गाजामा प्रवेश गर्न दिइएको थिएन । जसको कारण इजरायल अन्तर्राष्ट्रिय दबाबमा आएको छ ।
सहायता संस्था तथा संयुक्त राष्ट्र संघले गाजाका २१ लाख जनसंख्यामा भोकमरीको जोखिमको चेतावनी दिएका छन् । गाजामा कुपोषणले ग्रस्त बालबालिकाका तस्बिर सार्वजनिक भइरहेका छन् ।
फ्रान्सका विदेशमन्त्री ज्यान–नोएल बारोले इजरायललाई तत्काल ठूलो मात्रामा गाजामा मानवीय सहायता प्रवेश गराउन आह्वान गरेका छन् ।
यसैबीच, इजरायली सेनाले गाजाभर व्यापक स्थल आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ६७ जनाको मृत्यु भएको छ । ३ सय ६१ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार उत्तरी गाजाको एक अस्पतालसहित विभिन्न स्थानहरूमा आक्रमण भएका छन् । दक्षिणी सहर खान युनिस र उत्तरी सहर बेइत लाहिया र जबालियाका शरणार्थी शिविरमा आक्रमण भएको उद्धारकर्मीहरुले बताएका छन् । आक्रमणका कारण केही अस्पतालको सेवा ठप्प भएको छ ।
यसैबीच, कतारको दोहामा इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता जारी छ । वार्तामा अहिले सम्म उल्लेखनीय प्रगति भने भएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।