एजेन्सी–इन्डोनेसियाली सेना (टिएनआई) ले बिहीबार देशको पपुवा सेन्ट्रल प्रान्तको इन्टान जया रिजेन्सीमा १८ सन्दिग्ध सशस्त्र पृथकतावादीलाई गोली हानेर मारिएको बताएको छ।
टिएनआईका प्रवक्ता क्रिस्टोमी सियाँतुरीले एक विज्ञप्तिमा बुधबार बिहान टिटिगी, नुगुसिगा, जैनदापा, सुगापा लामा र जानम्बाका गाउँहरूमा स्थानीय समयानुसार साँझ ४ बजेदेखि ५ बजेको बीचमा गोली हानाहान भएको बताएका छन्।
उनका अनुसार गस्तीले सुरुमा ती गाउँका बासिन्दाहरूलाई स्वास्थ्य सेवा र शिक्षा सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको थियो, तर त्यसपछि केही सशस्त्र पृथकतावादीहरूको सामना गर्नुपरेको थियो।
“यो अपरेसन मापनयोग्य र व्यावसायिक तरिकामा गरिएको थियो र नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिइएको थियो। हामी पपुआन जनतालाई उनीहरूको मातृभूमिमा डरले बाँच्न दिनेछैनौँ”, सेनाको सूचना विभागका प्रमुख सियाँतुरीले भने।
पृथकतावादीहरूबाट राइफल, गोलाबारुद, सञ्चार उपकरण लगायतका प्रमाणहरू पनि जफत गरिएको उनले बताए।
“टिएनआई यहाँ स्थानीयहरूलाई डराउनका लागि होइन, सशस्त्र समूहहरूले गरेको हिंसा र धम्कीबाट बचाउनका लागि आएको हो”, उनले भने।
इन्डोनेसियाका सुरक्षा बलहरूको पपुआन पृथकतावादीहरूसँग बारम्बार झडप भएका छन्, जसको परिणामस्वरूप दुवै पक्षको ज्यान गएको छ।
ओपिएमको सशस्त्र शाखा वेस्ट पपुवा नेसनल लिबरेसन आर्मी (टिपिएनपिबी) ले सैन्य र प्रहरी कर्मचारीहरूका साथै नागरिकहरूलाई लक्षित गर्दै स्वतन्त्र राज्यको खोजीमा दशकौँदेखि छापामार युद्ध चलाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।