जनकपुरधाम–नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद भएको छ।
अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ। निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन्।
निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन्।
धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ। दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन्।
मण्डल, अरगरिया र झासहितका नेताहरुको समूहले निर्वाचनमा धाँधली गराउन लागेको रघुवीरमाथि आरोप लगाएका छन्। रघुवीरतर्फबाट भोला यादवलाई अध्यक्षमा अधि सारिएको छ।
सोमबार राति नै मनोनयन दर्ता भएको थियो। उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए।
आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो।
केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर लफडा बढेको बताइएको छ। अधिवेशनस्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ। विवादका कारण मतदान प्रक्रिया अहिले रोकिएको छ।
भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।