काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिएका हुन्। शिक्षकका जायज मागहरू पूरा गर्न यथाशीघ्र शिक्षा ऐन नल्याए शासकहरू भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ। उनले सरकारले शिक्षकहरूका जायज मागहरू पुरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाए।
उनले भने, ‘शिक्षकहरूका मागअनुसार शिक्षा विधेयकलाई टुङ्ग्याउनको लागि हार्दिक अनुरोध गर्दछु। अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला। शासकहरू भागेको कुरा सुन्नुभएको होला नि। पढ्नु भएको पनि होला। जनताको अगाडि बहुमत र दुई तिहाइको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ। ’
उनले सरकारले शिक्षकहरूमाथि दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भर्त्सना गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।