काठमाडौं–काठमाडौं महानगरपालिकाले रोकिएको तलब एकमुष्ट रुपमा वितरण गर्न थालेको छ।
प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक-कर्मचारी तथा जनप्रतिधिको तलब रोकिएको थियो।
शिक्षकहरूले ५ महिनाको र कर्मचारीहरुले तीन महिनाको (चैतसम्म) तलब पाउन बाँकी छ। प्रशासकीय अधिकृत गुरागाईं गत विहीबार कार्यालयमा हाजिर भएपछि तलब निकासालाई पहिलो प्राथमिकतामा राखेका थिए।
महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले रोकिएको तलब वितरण आजबाट सुरू भएको बताए। आजैमात्र आधाभन्दा बढी कर्मचारीको तलब निकासा भइसकेको उनले जानकारी दिए।
‘ठूलो संख्यामा कर्मचारी छन्। हामीले पठाइसकेपछि प्रत्येकको खातामा ट्रान्सफर गर्न बैंकलाई पनि टाइम लाग्छ। आजबाट सुरू भयो। अब यो हप्ताभरिमा सबैको सकिन्छ,’ उनले भने।
गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए।
बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।