काठमाडौं – आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ । ‘स्वस्थ सुरुवात, आशावादी भविष्य’यो वर्षको नारा रहेको छ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाइन्छ ।
स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष दिवसमा मातृ तथा नवजात शिशुको स्वास्थ्यमा जोड दिइएको छ । विश्व स्वास्थ्य संगठनले मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी एक वर्ष लामो अभियान सुरु गर्ने जनाएको छ ।
अभियानले मातृ तथा नवजात शिशु मृत्यु अन्त्य गर्न र महिलाको दीर्घकालीन स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिने प्रयासहरू तीव्र पार्न आग्रह गर्नेछ । प्रत्येक वर्ष करिब ३ लाख महिलाहरूले गर्भावस्था वा बच्चा जन्माउने क्रममा आफ्नो ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यस्तै विश्वमा २० लाखभन्दा बढी शिशुहरू जन्मेको पहिलो महिनामै मर्ने र लगभग २० लाख थप मृत जन्मिने गरेको तथ्यांक छ । नेपाल सरकारले दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने प्रतिबद्धता जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।