काठमाडौं। नेपालपछि भारतीय फुटबलमा पनि ‘म्याच फिक्सिङ’ को ठूलो समस्या देखिएको छ। भारतीय क्लब फुटबलमा ‘फिक्सिङ’ को घटना बढ्न थालेपछि त्यहाँको केन्द्रीय अनुसन्धान आयोग (सीबीआई) ले अनुसन्धान सुरु गरेका छ। सीबीआई टिमले राजधानी दिल्लीको द्धारिकास्थित अखिल भारतीय फुटबल संघ (एआइएफएफ) को कार्यालय पुगेर संघका पदाधिकारीसँग सोधपुछ सुरू गरेको हो।
सीबीआईले संघसँग क्लबको लगानीको सम्पूर्ण जानकारी माग गरेका भारतीय अखबारहरूले खुलासा गरेका छन्। भारतमा फुटबलको गतिविधि सञ्चालन गर्ने निकाय एआइएफएफ हो। भारतीय फुटबलको ‘म्याच फिक्सिङ’ मा सिङ्गापुरका एक ‘म्याच फिक्सर’ को नाम अगाडि आइरहेको छ।
नेपालमा ७ वर्षअघि ‘म्याच फिक्सिङ’ को मुद्धामा राष्ट्रिय टोलीका खेलाडीहरूलाई कार्यवाही हुँदा पनि सिङ्गापुरकै यिनै ‘म्याच फिक्सर’ को नाम अगाडि आएको थियो।
भारतीय फुटबल संघका सचिव साजी प्रभाकरनले यस विषयमा स्पष्टीकरण दिँदै भनेका छन्, ‘म्याच फिक्सिङ संघलाई क्षम्य छैन। हामीले क्लबको छानवीनमा सहयोग गर्ने आश्वासन दिएका छौं।’
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतमा क्लब फुटबलमा हुने गरेको ‘म्याच फिक्सिङ’ को मुद्धा आइतबार जानकारीमा आएको हो। सीबीआईलाई एक अन्तर्राष्ट्रिय ‘फिक्सर’ ले यसको जानकारी दिएको हो। उसले शेल कम्पनीहरूको माध्यमले ५ भन्दा बढी भारतीय फुटबल क्लबमा घुमाउरो पाराले ठूलो धनराशी लगानी भएको जानकारी दिएको छ।
भारतीय फुटबलमा ‘म्याच फिक्सिङ’ मा संलग्न सिङ्गापुरका ‘फिक्सर’ विल्सन राज पेरुमल भएको बताइन्छ। उनी नेपाली फुटबलको ‘म्याच फिक्सिङ’ काण्डमा पनि संलग्न थिए। सन् २००९ मा ‘म्याच फिक्सिङ’ काण्डमा उनलाई सिङ्गापुरमा पाँच वर्षको जेल सजाय भएको थिए। उनले फिनल्याण्ड र हंगेरीमा पनि जेल सजाय भोगिसकेका छन्।
पेरुमलले ‘लिविङ थ्रिडी होल्डिङ लिमिटेड’ को नामबाट भारतीय क्लबमा लगानी गरेको आशंका गरिएको छ।
सीबीआई श्रोतका अनुसार भारतको प्रतिष्ठित आई–लीग खेलिरहेको इन्डियन एरोज टिममाथि पनि गम्भीर आशंका उत्पन्न भएको छ। एरोजलाई भारतीय फुटबल संघ र ओडिशा सरकारले लगानी गरेको थियो। यो क्लबमा न कुनै विदेशी खेलाडीको आवद्धता छ, न विदेशी कर्मचारी नै कार्यरत छन्। तर, टिमकै केही व्यक्ति ‘फिक्सर’ को सम्पर्कमा रहेको आशंका गरिएको छ।
सीबीआईले क्लबसँग उनीहरूको विदेशी खेलाडी, टेक्निकल स्टाफको अनुबन्धको सम्पूर्ण कागजपत्र तथा विदेशी एजेन्सी र प्रायोजकको विषयमा जानकारी माग गरेको छ।
रिपोर्टअनुसार ओलम्पिकका केही खेल, विश्व कप छनोट, महिला विश्व कप, कनकाकाफ गोल्ड कप र अफ्रिकी कप अफ नेसन्ससमेत भारतले खेलेको ठूलो प्रतियोगिताको नतिजालाई पनि रडारमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।