काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले पार्टीभित्र अन्तर्घातको समस्या कायमै रहेको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन्। ‘अन्तर्घातको समस्या समाधान भएको छैन। नभएको भए यतिमात्रै होइन, ४ सय नजिक स्थानीय तहमा जित हासिल गथ्र्यौं,’ उनले भने, ‘यसबारेमा सबै सूचना आइसकेपछि व्यापक समीक्षा गर्नेछ।’
उनले अहिलेको परिणामलाई सन्तोषजनक र सकारात्मक मान्नुपर्ने बताए। ‘गठबन्धन सफल हुँदैन भनेर जसरी प्रचार र आशंका सिर्जना भएको थियो। त्यसलाई चिरेर एउटा विश्वासको वातावरण बनेर मित्रवत प्रतिस्पर्धा पनि गरियो,’ उनले भने, ‘ एक्लै लडेको ठाउँमा पनि राम्रो नतिजा हासिल गरेका छौं। गठबन्धन दलसमेतको ठूलो अग्रता कायम गर्न सफल भएका छौं।’
उनले आफ्नो पार्टीले नगरपालिकाको कुरा गर्ने हो भने ५० प्रतिशतको हाराहारीमा जित हासिल गरेको बताए। एमालेले एक्लै लडेको भन्ने दाबीमा सत्यता नभएको भन्दै उसले पनि विभिन्न पार्टीहरुसँग तालमेल गरेको उनको भनाइ छ।
आगामी रणनीति आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ छ। ‘गठबन्धनलाई पनि सँगै अगाडि बढाउने विषयमा हामी छलफल गर्छौं। पार्टीभित्र र गठबन्धनका दलमा पनि छलफल गरेर अघि बढ्ने छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।