काठमाडौं- काठमाडौं महानगरपालिकामा एकीकृत समाजवादीको तर्फबाट उपमेयरको उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले दोहोर्याएर मतगणना गर्न माग गरेका छन्। उनले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन्।
उम्मेदवार नभएको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदको हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिह्नमा मतसंकेत भए पनि आफू उम्मेदवार भएको कलम चिह्नको मतसंकेतलाई समेत बदर गरी गणना गरेको र यसबाट मतपरिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको निवेदनमा उनले उल्लेख गरेका छन्।
काठमाडौंमा ठूलो संख्यामा मत बदर भएको छ। श्रेष्ठले निवेदनमा प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिह्नमा मत संकेत भएका मतपत्रमा आफू उम्मेदवार भएको कलम चिह्नको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल दोहोर्याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ भनेका छन्।
काठमाडौं महानगरपालिकाको मतगणनाको सुरुवातदेखि नै श्रेष्ठ पछि पर्दै आएका छन्। उनको प्रतिस्पर्धी एमालेकी सुनिता डंगोलभन्दा उनको मत एक तिहाइ छ। सोमबार दिउँसो २ बजे आयोगले सार्वजनिक गरेको अपडेटमा डंगोलले ४६ हजार ५८० मत पाइसकेकी छिन्। श्रेष्ठले भने १६ हजार १४६ मत मात्रै पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।