काठमाडौं– कर्णालीका १० वटा जिल्लाका ७९ पालिकाको नतिजा घोषणा भएको छ। उक्त नतिजाका आधारमा जिल्ला समन्वय समिति गठन हुनेछन्। समन्वय समितिमा छानिने ९ जनाका लागि मतदाता भने पालिका प्रमुख र उपप्रमुखहरू हुन्छन्।
कर्णालीका १० जिल्लामध्ये मुगुमा नेपाली कांग्रेस र रुकुम पश्चिममा माओवादी केन्द्रले जिल्ला समन्वय समिति एकल रुपमा बनाउने देखिएको छ। अन्य पालिकामा बहुमत पुर्याउन दलहरुले तालमेल वा स्वतन्त्र जितेकाहरुको सहयोग लिनुपर्ने देखिएको छ।
सल्यानमा अलमल
सल्यानमा १० स्थानीय तहमध्ये कांग्रेसले ५ पालिकामा प्रमुख जितेको छ। तीन पालिकामा भने उपप्रमुख जितेको छ। एमालेले कालिमाटी र छत्रेश्वरीमा प्रमुख र उपप्रमुख दुवै जितेको छ भने कुमाखमा उपप्रमुख जितेको छ।
यसैगरी माओवादीले पनि दार्मा र बनगाडमा प्रमुख जितेको छ भने कपुरकोट, सिद्ध कुमाख, दार्मा र बागचौरमा उपप्रमुख जितेको छ। एकीकृत समाजवादीले भने कपुरकोट गाउँपालिकामा प्रमुख जितेको छ।
जिल्ला समन्वय समितिका लागि कांग्रेससँग ८, एमालेसँग ५, माओवादीसँग ५ र एकीकृत समाजवादीसँग एक मत छ। समन्वय समिति बनाउन ११ मत आवश्यक छ। त्यसकारण माओवादी वा एमालेसँग कांग्रेस मिल्ने वा अन्य तिनै दल मिलेर बनाउन सक्ने सम्भावना छ।
डोल्पामा तीन दल मिल्नुपर्ने अवस्था
डोल्पाका ८ पालिकामा दुई प्रमुख र एक उपप्रमुख एकीकृत समाजवादीले जितेको छ। एमालेले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ भने कांग्रेसले एक प्रमुख र दुई उपप्रमुख जितेको छ। यसैगरी माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ भने स्वतन्त्रले एक प्रमुख र एक उपप्रमुख जितेको छ।
कसैको स्पष्ट बहुमत नभएका कारण तीन दल वा दुई दलले स्वतन्त्र मिलाएर यहाँ समन्वय समिति बनाउन सक्छन्।
मुगुमा कांग्रेसको एकल बहुमत
मुगुमा चारवटा पालिका रहेका छन्। चार पालिकामध्ये कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ। माओवादीले एक प्रमुख, समाजवादीले एक प्रमुख र एमालेले एक उपप्रमुख जितेको छ। कांग्रेस एक्लैले समन्वय समिति बनाउने निश्चित छ।
जुम्लामा कांग्रेसलाई बागीको भर
जुम्लामा ८ पालिका छन्। ८ मध्ये कांग्रेसले चार प्रमुख र चार उपप्रमुख जितेको छ। माओवादीले तीन प्रमुख र तीन उपप्रमुख जितेको छ। एकीकृत समाजवादीले एउटा उपप्रमुख जितेको छ भने एउटा प्रमुख स्वतन्त्रले जितेको छ।
कांग्रेसले स्वतन्त्र वा एकीकृत समाजवादीमध्ये एक मिलाउँदा पुग्ने देखिन्छ तर माओवादीले सबै मिलाउँदा पनि बराबर हुन्छ। त्यसैमाथि स्वतन्त्र जितेका कांग्रेसकै बागी भएकाले कांग्रेसले नै समन्वय समिति बनाउने लगभग पक्का छ।
कालिकोटमा माओवादीलाई दुई मत आवश्यक
कालिकोटका ९ वटा पालिकामा पाँचवटामा माओवादीले प्रमुख र तीनमा उपप्रमुख जितेको छ। कांग्रेसले दुई प्रमुख र एक उपप्रमुख, एमालेले चार उपप्रमुख, स्वतन्त्रले दुई उपप्रमुख र समाजवादीले एक प्रमुख जितेका छन्। माओवादी केन्द्रले एमाले वा स्वतन्त्रसँग मिलेर समन्वय समिति बनाउन सक्ने छ।
हुम्लामा कांग्रेस र माओवादीको प्रतिस्पर्धा
सातवटा स्थानीय तहको भएको हुम्लामा कांग्रेसले तीन प्रमुख, तीन उपप्रमुख जितेको छ। माओवादीले तीन प्रमुख र तीनवटा उपप्रमुख जितेको छ। एउटामा स्वतन्त्रले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख जितेको छ। स्वतन्त्र र एकीकृत समाजवादीलाई मिलाउन सक्नेको समन्वय समिति हुनेछ।
जाजरकोटमा कांग्रेसको सम्भावना
जजरकोटका सातवटा पालिकामा कांग्रेसले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेर ठूलो दल बनेको छ। तीन पालिका प्रमुख एमाले। एक प्रमुख र तीन उपप्रमुख माओवादीले जितेको छ।
कांग्रेसले जुनुसुकै दलसँग मिल्दा पनि बहुमत पुग्ने, तर माओवादी र एमाले मिल्दा बराबर हुने अवस्था छ। कांग्रेसको समन्वय समिति हुने लगभग पक्का छ तर कोसँग मिल्ने निर्क्योल पछि हुनेछ।
दैलेखमा ठूलो दल एमाले
यहाँ ११ वटा पालिकामा एमाले चार प्रमुख, ६ उपप्रमुख सहित १० मत पु¥याएको छ। कांग्रेस ५ प्रमुख र ४ उपप्रमुख गरेर ९ मतसहित दोस्रो दल बनेको छ भने माओवादीले दुई प्रमुख र समाजवादी एक उपप्रमुख जितेका छन्।
सत्ता गठबन्धन कायम रहँदा एमाले ठूलो दल बनेर पनि समन्वय समिति बनाउन सक्ने अवस्था रहँदैन।
सुर्खेतमा सत्ता गठबन्धनसँग एमाले बराबर
९ वटा पालिका रहेको सुर्खेतमा चार प्रमुख र पाँच उपप्रमुखसहित एमाले पहिलो दल बनेको छ। कांग्रेस चार प्रमुख र चार उपप्रमुख सहित दोस्रो दल हो भने माओवादीसँग एक प्रमुख छन्।
सत्ता गठबन्धनसँग बराबर गरेको एमालेले माओवादीलाई फकाउन सक्दा समन्वय समिति सजिलै बनाउन सक्छ। तर कांग्रेस र माओवादी मिल्दा समेत बराबर मत हुन्छ।
रुकुम पश्चिममा माओवादी
६ वटा पालिकामा चारवटामा प्रमुख जितेको माओवादीले पाँचवटा उपप्रमुख जितेको छ। कांग्रेसले दुईटा प्रमुख र समाजवादीले एउटा उपप्रमुख जितेको छ।
एमाले शून्य रहेको यो जिल्लामा माओवादी स्पष्ट बहुमत भएकाले यहाँ समन्वय समिति माओवादीले नै बनाउने निश्चित देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।