काठमाडौं- सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन्।
शुक्रबार सीमाविद् श्रेष्ठद्वारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै सीमाविद् श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भू–भाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए।
आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।
अब नेपालको बढेको क्षेत्रफल कति हो त? सविकमा १ लाख ४७ हजार १८१ वर्ग कि.मि. थियो भने कति बढ्यो? अहिलेसम्म सरकारले सार्वजनिकीकरण गरेको छैन। यसले गर्दा लोकसेवा आयोगका परीक्षार्थीलाई मार परेको छ। मैले आफैंले विभिन्न नक्सा अध्ययन गरेर हेर्दाखेरी साविक क्षेत्रफलमा ८२६ वर्ग कि.मि. भूभाग थपिएको मलाई लाग्दछ। त्यसमा सरकारले भन्नुपर्दछ’ उनले भने।
सीमाविद् श्रेष्ठले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ सार्वजनिक भएको छ। पुस्तकमा नेपालको सीमानाको साथसाथै अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाहरुको सम्बन्धमा पनि उल्लेख गरिएको उनले बताए। नेपाल–भारतमा भएका सिमा समस्या, सिमा अध्ययन गर्न जाँदा आफूले भोगेका अनुभुतिहरुसमेत पुस्तकमा उल्लेख गरिएको उनले जानकारी दिए।
नेपालको नक्साको द्वन्द्व, चुच्चे नक्सा लगायतका सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझुन् भन्ने उद्देश्य साथ पुस्तक अंग्रेजी भाषामा लेखिएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।