काठमाडौं- नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका माधव कुमार नेपाललाई छाडेका नेताहरुको बैठक बसिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत नभए विद्रोह गर्ने चेतावनी उनीहरुले दिइरहेका छन्।
राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी भएपछि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठनको प्रकृया थाल्दा त्यसमा सहभागी नभइ नेता नेपाललाई छोडेका स्थायी कमिटी, केन्द्रीय कमिटी सदस्यहरु र सांसदहरु अन्तिम पटक ओलीलाई १० बुँदे सहमति अनुसार अघि बढ्न मनाउने प्रयास गर्ने, र त्यसो नभएमा विद्रोह गर्ने भन्दै शुक्रबार छलफल गरिरहेका हुन्।
महराजगञ्जस्थित एक पार्टी प्यालेसमा शुक्रबार दिउँसोबाट सुरु भएको बैठक अहिलेपनि बसिरहेको छ।
‘पार्टी एकताका लागि ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गराउन दबाब दिने भन्ने छ। यदी उहाँ सहमति कार्यान्वयन गर्न सहमत नभएमा विद्रोह गर्ने भन्ने छ’, नेता निरज आचार्यले भने, ‘त्यसैका लागि महराजगञ्जको एक पार्टी प्यालेसमा छलफल गरिरहेका छौं।’
नेपालले नयाँ पार्टी गठन गर्ने र ओलीले नेपालपक्षलाई पार्टीबाट बिदा गर्न खोज्ने दुबै अतिवादी भएको भन्दै उनीहरु दुबै पक्षमा नलागी बीचधारमा रहेका थिए। पार्टी विभाजनको अन्तिम तयारी भइरहँदा उनीहरुले अध्यक्ष ओलीलाई मनाउने प्रयास गरेका थिए तर त्यसलाई उनले स्वीकार नगरेपछि नेता नेपाललाई छाडेका उनीहरु थप छलफलमा बसेका हुन्।
माधवको साथ छाडेका ९ जना स्थायी कमिटी सदस्यहरुले ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी हालै सरकारले जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गरेका थिए। साथै, पार्टी अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदमाथि गर्ने भनिएको कारबाही फिर्ता गर्नुपर्ने मागसमेत उनीहरुले अघि सारेका छन्। ‘पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्तारुले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हामी हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरुमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएकी नेतृ अष्टलक्ष्मी शाक्यसमेत रहेकी छन्। उनीहरुले आफूहरुलाई नवौं महाधिवेशनबाट निर्वाचित पार्टी पदाधिकारीका रुपमा चिनाएका छन्।
हस्ताक्षर गर्ने अन्य नेताहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव भीम आचार्य, सचिव गोकर्ण विष्ट, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य रघुजी पन्त रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।