काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएकाे महन्थ ठाकुरपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नाम लिएर दर्ता गर्न निर्वाचन आयोेग जान लागेकाे छ।
यसअघि उनीहरुले निवेदन दिएको जसपा (लोकतान्त्रिक) पार्टी दर्ता गर्न अस्वीकार गरेपछि महन्थपक्ष नयाँ पार्टीको नाम लिएर आयोग जान लागेका हुन्।
नामका विषयमा कार्यकारिणी समितिमा छलफल भई निर्णय भएपछि आयोगमा दर्ता गर्न जान लागेको नेता एकवाल मियाँले बताए। ‘निर्वाचन आयोगले अर्को पार्टीसँग मिल्दोजुल्दो नाम नराख्नुस् त्यसले पछि अप्ठ्यारो पर्छ। यसअघि नेकपाको विषयमा विवाद हुँदा सर्वोच्च अदालतले एमाले माओवादी ब्यूउँताउने फैसला गर्यो। तपाईले पनि अर्को पार्टीसँग मिल्दो जुल्दो नाम नराख्नुस् भन्नुभयो,’ नेपाल लाइभसँग कुरा गर्दै मियाँले भने, ‘आयोगको निर्णयमा कन्भिन्स भएपछि छलफल गरियो। नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राख्ने सहमति भयो । दर्ता गर्न आयोग जाँदै र्छौ।’
जसपा विभाजन हुनुअघि जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले राष्ट्रिय जनता पार्टी (राजपा) दर्ता गरी सकेकाले महन्थपक्षले जसपा (लोकतान्त्रिक दर्ता गरेका थिए। चुनाव चिह्न भने यसअघि राखिएको साइकल नै कायम हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।