काठमाडौं- नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादीको नाम परिर्वतन गरेर पार्टी दर्ताका लागि निवेदन दिएका छन्। यसअघि नेकपा एमाले (समाजवादी) नामको पार्टी दर्ताका लागि निवेदन दिएका नेपालले त्यो नाम बदलेर अर्को नाममा पार्टी दर्ता गर्न बिहीबार आयोगमा निवेदन दिएका हुन्।
नेपालपक्षकी केन्द्रीय सदस्य निरा जैरुले बिहीबार ४ बजे निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भएको बताइन्।
‘एमाले हटाएर कागजपत्र बुझाएका छौं,’ उनले भनिन्, ‘आज आयोगले प्रमाण-पत्र उपलब्ध गराउँछ होला।’ आयोगले एमाले नाम राख्दा मूलपार्टीसँग जुध्ने भन्दै फरक नाम ल्याउन सुझाव दिएको थियो। लगत्तै उनीहरुले एमाले हटाएर समाजवादीका लागि मात्र निवेदन दिएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बुधबार राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो। त्यसक्रममा दलको नाम नेकपा एमाले (समाजवादी) र निर्वाचन चिन्ह खुला पुस्तक राखिएको थियो। तर, चुनाव चिन्ह अन्य दलसँग जुँधेपछि पछि निर्णय गरिने उक्तपक्षका नेताहरुले जनाएका थिए।
फेरि नेकपा एमालेसँग नाम जुँधेको भन्दै आयोगले नाम फेर्न नेपालपक्षलाई भनेको थियो। त्यसपछि नेकपा एमाले समाजवादीको नाम फेरेर नेकपा एकीकृत समाजवादी दर्ता गरिएको जैरुले जानकारी दिइन्।
चुनाव चिन्हको विषयमा भने छलफल जारी रहेको नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।