काठमाडौं- पदम गौतमद्वारा लिखित उपन्यास 'विश्रामपुर' बजारमा आएको छ। राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका गौतमको यो पहिलो उपन्यास हो। यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कविता संग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजल संग्रह प्रकाशित छन्।
'राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथा हो- 'विश्रामपुर'। उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन्। आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ।
राजनीतिले देखाएको सपना र सत्ताले गर्ने सपनाको हत्यापछि पिँधमा रहेका नागरिकले भोग्नुपर्ने भुक्तमानको दस्तावेजीकरण हो- विश्रामपुर', पुस्तकबारे प्रकाशक साङ्ग्रीला बुक्सको भनाइ छ।
उपन्यासको भावभूमि र मुख्य विषय तीन-चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या भएको लेखक गौतमको भनाइ छ। 'मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरें धेरै पटक। पात्र र गाउँ काल्पनिक भए पनि सपना उही हुन्, मान्छेका कथा उही हुन्', उनी भन्छन्।
पुस्तक २७२ पृष्ठको छ र मूल्य ४८४ रहेको प्रकाशकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।