काठमाडौं- राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई एक लाख रूपैयाँ राशिको इन्जा पुरस्कार प्रदान गरिने भएको छ। नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपैयाँ राशिको 'उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०)' साहित्यकार तथा पत्रकार पराजुलीको कोटेश्वरको केटोलाई प्रदान गरिने भएको हो।
सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’लाई उक्त पुरस्कार प्रदान गरिएको हो। राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन्। विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा मार्क्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्। एउटा उपन्यास 'अनायिका' र कवितासंग्रह 'भ्रष्ट संवेदना' र संस्मरणात्मक कृति 'कोटेश्वरको केटो' समेत गरी उनले ८ वटा कृति प्रकाशनमा ल्याइसकेका छन्।
‘कोटेश्वरको केटो’ झन्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो। यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ। काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन्। कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पारेको सन्दर्भ यो कृतिमा प्रकाश पार्ने प्रयत्न गरिएको छ।
जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगउँदै संस्मरणमा उतार्न सक्ने खुबी पराजुलीमा छ। कोटेश्वरको केटो पुस्तकलाई लेखकले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट। अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।