सक्छौ भत्काइदेऊ, मनभित्रको छाउ
मात्र भत्काएर मेरो सानो कटेरो
यो जितेँ भन्न नआऊ
न त यता, न उताको परिबन्ध
नबनाइदेऊ जरैदेखि उखालिने
शिक्षा लिई आऊ।।
नतर्साउने पितृ देऊ, न रिसाउने देउता
सचेतना मात्र बाँड मन्त्र एउटा
न त शिक्षा, न त ज्ञान
बुझ्नु कसरी म?
डर नै डर,
जताततै कर नै कर
गरुँ के अरु म?
कारण पत्ता लगाउ पहिला
काम गर सोचीबुझी
मनैदेखि फाल्ने बनाऊ, आफै फाल्छन् रोजीरोजी
भत्काई जान्छौ गोठ तिमी मनमा दिई
न त भित्र, न त बाहिर बस्न कहाँ जाऊन् तिनी।
चिसो छिँडी सोध्छ सधैँ
अशुद्धता के हो भनी
बगी जाने रगत हो कि
मनको मैलो?
कस्ता देउता रैछन् बरै!
कस्ता रैछन पितृ
सन्तानलाई नै अशुद्ध पार्ने
कस्तो नियम यो?
पूर्व, पश्चिम, उत्तर, दक्षिण
कोठाकोठा छाउ
मनभित्र झन् गहिरो छ
के ले यो मेटाउँ
सुरु भयो तर हटिदेला कैले?
आफैलाई अशुद्ध ठान्ने
के भूल गरेँ मैले?
'नछुने भई' 'पर सरी'
शब्द अनेक-अनेक
गोठ गाकी, भन्दै खेद्छन्
महिनै हरेकहरेक
कस्तो रीति?
कस्तो थिति?
मात्र दिने पीडा
पशुभन्दा तल गन्ने
के रचेको यस्तो लीला?
नियम चाहिँ प्रकृतिको चलाउँछ समाज
देखाई डर पहिर्याई दिन्छ नियमको कवच
शिक्षा देऊ तिनैलाई पढाऊ तिनैलाई
धर्म पोको पारिकन मेरै भन्नेलाई।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।