काठमाडौं- संवैधानिक इजलासको रिक्त एक न्यायाधीशमा केदारप्रसाद चालिसे तोकिएका छन्।
न्याय परिषद् बैठकले कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा चालिसेलाई तोकिएको हो। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकाश पाएसँगै संवैधानिक इजलास रिक्त रहेको थियो।
अब संवैधानिक इजलासले पूर्णता पाएको छ। इजलासमा कामु प्रधानन्याायधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे रहनेछन्।
संवैधानिक इजलासका आगि आवश्यक एक न्यायाधीशको सिफारिस नहुँदा सुनुवाइ ठप्प भएको थियो। करिब ४ सय थान संवैधानिक विवादका मुद्दा संवैधानिक इजलासले सुनुवाइ गर्नुपर्नेछ।
संवैधानिक इजलाशले संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार क्षेत्रको विवाद, निर्वाचन विवाद र तीन तहका विधायकको योग्यताको विवाद समेत हेर्नेछ। साथै सर्वोच्चमै विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्ता मुद्दा समेत संवैधानिक इजलासले किनारा लगाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।