बुटवल- रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा पाल्तु चौपाया जथाभावी छाड्ने प्रवृत्तिलाई निरुत्साहन गर्न सरोकारवालाले माग गरेका छन्।
जथाभावी चौपाया छाड्ने प्रवृत्तिले नगर क्षेत्रमा सडक दुर्घटना बढ्ने, फोहर व्यवस्थापनमा कठिनाइ हुने, सर्वसाधारणको बालीनाली नोक्सान हुने लगायत नगर क्षेत्रकै सुन्दरतामा समस्या आउने भएकाले चौपाया नियन्त्रण गर्न आग्रह गरिएको हो।
रुपन्देही, तिलोत्तमा नगरपालिकामा गौशाला व्यवस्थापनका विषयमा नगरपालिका र गौशाला व्यवस्थापन समितिको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो। छाडा चौपायालाई गौशालासम्म पुर्याउन समस्या भइरहेका बेला नगरपालिकाले व्यवस्थापन समितिसँग गरेको संयुक्त छलफलले सरोकारवाला अन्य निकायसँग सहयोग माग्ने निर्णय गरेको छ।
बैठकमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले छाडा चौपायाले वन संरक्षणमा पनि चुनौती थपेकाले यसमा सुरक्षा निकायको सहयोग मागिने जानकारी दिए।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले सडकमा डुल्ने साँढेलाई गौशालासम्म पुर्याउन निकै चुनौतपूर्ण रहेको बताउँदै सबैको सामूहिक प्रयासले मात्र समस्याको समाधान हुने बताए।
शंकरनगर र करहिया सामुदायिक वन उपभोक्ता समूहको चार बिघा क्षेत्रफलमा गौशाला रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।