काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि चासो देखाउदै आएका छन् ।
प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगायत निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी गराएका थिए ।
टियु क्रिकेट मैदानको निरिक्षण गरेपछि प्रधानमन्त्री ओलीले टियु क्रिकेट मैदानमा उत्साहपूर्ण ढंगले काम भइरहेको बताए । प्याराफिट र फ्लडलाइट जडानको कार्य केही ढिला भए पनि अब छिट्टै सम्पन्न हुने उनको विश्वास छ । प्रधानमन्त्री ओलीले टियु क्रिकेट मैदान नेपालकै गौरवको खेल मैदान भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते पनि सिंहदरबारमा सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए ।
प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो । आगामी आर्थिक वर्षमा सरकारले कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।