काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्वदेश फर्कीएकी छन् । जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्किएकी हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल सो सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रूपमा सहभागी भएको हो ।
उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए । उक्त सङ्गठनले विभिन्न देशबीच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबिच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबिचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।
यसै कार्यक्रमका सिलसिलामा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । उक्त भेटका अवसरमा नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री डा राणाले दिएकी थिइन् ।
उनले भेटघाटमा नेपाल र चीनबिच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।