काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कुनै पनि कार्यक्रम अध्ययन गर्न अब देखि विद्यार्थीले इन्ट्रान्स परीक्षा (प्रवेश परीक्षा) दिनुपर्ने छैन । परिषद्ले हालै जारी गरेको ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ लागू भएसँगै यो व्यवस्था हटाइएको हो ।
निर्देशिका अनुसार अबदेखि एसईई वा एसएलसीमा प्राप्त अङ्कका आधारमा विद्यार्थी छनोट गरिनेछ । एसईईमा प्राप्त अङ्कलाई जीपीए ४ पूर्णाङ्क मानिनेछ । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अङ्क र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ०.८५ अङ्कका दरले योग्यता क्रम तय गरिनेछ ।
वैशाख २६ गते बसेको सीटीईभीटीको २०७ औं बैठकले परीक्षा नियन्त्रण कार्यालयलाई सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । सोही निर्णयअनुसार इन्ट्रान्स परीक्षा यही शैक्षिक सत्रदेखि हटाइएको हो ।
यसअघि इन्ट्रान्स परीक्षा तयारीका लागि कक्षा सञ्चालन गरिने गरिन्थ्यो, जसमा विद्यार्थीबाट मोटो शुल्क लिइने गरिएको थियो । अब भने विद्यार्थीहरू एसईईको जीपीएको आधारमा सिधै भर्ना हुन पाउनेछन् ।
देशभर रहेका ६३ वटा आङ्गिक र ४०० भन्दा बढी प्रतिष्ठान तथा निजी कलेजहरूमा हरेक वर्ष २५ हजारभन्दा बढी विद्यार्थी भर्ना हुने गर्छन् । अब ती विद्यार्थीले आफूले रोजेको शिक्षालय तथा विषयमा अनलाइनमार्फत भर्ना फारम भर्न सक्नेछन् । सम्बन्धित क्याम्पसहरूले फारम भर्न सहजता मिलाउने व्यवस्था मिलाउने छन् ।
स्वास्थ्यका लागि न्युनतम २ जीपीए
स्वास्थ्यका पीसीएल नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब टेक्निसियन लगायतका तीन वर्षे डिप्लोमा कोर्स विद्यार्थीको आकर्षण देखिन्छ । त्यसका लागि उच्च प्रतिष्पर्धा हुने गरेको छ ।
स्वास्थ्य कार्यक्रमहरूको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य अंग्रेजी गणित र विज्ञान विषय लिई समग्रमा स्तरीकृत अंक ४.० मा न्यूनतम २.० जी. पी. ए. अथवा सो सरह वा परिषद्बाट सम्बन्धित प्राविधिक एस.एल.सी/प्रि–डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।
एस. एल. सी. / एस. ई. ई. को नतिजा पनि बराबर भएमा एस.एल.सी. / एस.ई.ई. परीक्षाको क्रमशः अनिवार्य गणित, विज्ञान र अंग्रेजीको फाइनल ग्रेडको आधारमा योग्यताक्रम प्रकाशित गरिने बताइएको छ । त्यसमा पनि अंक बराबर भएमा पिछडिएको दुर्गम एस.एल.सी. वा एस. ई. ई. उत्तीर्ण भएका उम्मेद्वारलाई प्राथमिकता दिइने उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।