काठमाडौँ–वर्तमान व्यवस्था विरोधी समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बुहदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि सुरु हुने भनिएको राजधानी केन्द्रित आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउन भएको छ।
समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा आइतबार बसेको संयुक्त जनआन्दोलन समितिमा आबद्ध राजनीतिक दल, संघसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुन काठमाडौँ बाहिरका जनतालाई काठमाडौँ आउन आह्वान गर्ने निर्णय गरेको हो।
बैठकलाई सम्बोधन गर्दै सुवेदीले आन्दोलन घोषणा सभा पछि पहिलो पटक सबै राष्ट्रवादी शक्तिहरू एकै ठाउँमा उभिएको सन्देश गएको बताए। उनले भने, ‘वातावरण अत्यन्त अनुकूल भएको छ। अब सबै मिलेर आन्दोलन सफल बनाउनु पर्दछ। संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापना हुने सम्भावना बलियो भएको छ।’
यस्तै संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यप्रति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरूको भेला जेठ ६ गते गर्ने तथा काठमाडौँ उपत्यकाका तिनै जिल्लाका आम जनतालाई आन्दोलनमा सहभागी हुन आह्वान र जागृत गर्ने उद्देश्यका साथ जेठ ८, ९, १० र ११ गते काठमाडौँ उपत्यका जनजागरण यात्रा गर्ने निर्णय भएको छ। यो यात्राको शुभारम्भ काठमाडौँको साँखुमा जेठ ८ गते गर्ने र जेठ ११ गते चाँगुनारायणमा समापन गर्ने तय भएको सुवेदीले बताए। यो यात्रा अन्तर्गत काठमाडौँ उपत्यकाका सबै १५ पालिका भित्रमा महत्त्वपूर्ण स्थानहरूमा कोण सभाहरू गर्ने उनको भनाइ छ।
त्यस्तै जेठ १३ गते वृहत् युवा स्वयंसेवक भेला गर्ने तथा आन्दोलनमा काठमाडौँ बाहिरका जनताको व्यापक सहभागिता जुटाउने गरी आवश्यक तयारी गर्ने निर्णय समेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।