उर्लाबारी, मोरङ- कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु ६ हजार ८ सय भत्ता दिने निर्णय गरेको छ।
कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु ५ हजार र स्वास्थचौकीले रु एक हजार ८ सय उपलब्ध गराउने भएको हो। आर्थिक वर्ष ०७५/७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए।
यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइनेछ। प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु २ हजार भाडासमेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए।
स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८ सयको हकमा भने नियमित जाँच गराएको हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताए। उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।