भैरहवा– भारतको नयाँ दिल्लीबाट उद्धार गरिएका ३९ महिलालाई नेपाल ल्याइएको छ। खाडी मुलुकमा रोजगारीका भारतको बाँटो हुँदै अवैध रुपमा गएका ती महिलाको पहाडगन्जस्थित एकै होटलबाट गत साता दिल्ली महिला आयोगले उद्धार गरेको थियो।
दिल्ली महिला आयोगले मानव तस्करी गरी नेपाली युवतीलाई खाडी मुलुकमा लैजान लागेको भन्ने सूचनाका आधारमा दिल्ली पुलिसको सहयोगमा होटलमा छापा मारेको थियो।
उद्धार गरिएका ३९ महिलामध्ये ३ जनालाई दिल्लीमै उनीहरुको परिवारलाई र बाँकी ३६ जनालाई रुपन्देही प्रहरीको जिम्मा लगाइएको केआई नेपालको दिल्लीस्थित उद्दार अधिकृत नविन जोशीले बताए। उद्धार गरिएका महिलालाई भारतस्थित नेपाली दूतावसका कर्मचारी र केआई नेपालका कर्मचारीले रुपन्देही प्रहरीलाई बुझाएका हुन्।
दिल्लीको पहाडगन्जस्थित हृदय इन नामक होटलमा एक साथ बसेको अवस्थामा उनीहरुलाई उद्धार गरिएको हो। उनीहरुको साथबाट राहदानी, नेपाली नागरिकता लगायतका कागजपत्र फेला परेको थियो। घटनाबारे दिल्ली पुलिसले अहिले पनि अनुसन्धान जारी राखेको बताइएको छ।
यता, रुपन्देही प्रहरीको जिम्मा लगाइएको ३६ जना महिलालाई उनीहरुको परिवारलाई सम्पर्क गरेर जिम्मा लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक उमेश जोशीले बताए।
उनका अनुसार उद्धार गरिएका महिला गुल्मी, सुर्खेत, झापा, मोरङ, सुनसरी लगायत जिल्लाका हुन्। नेपालले रोजगारीका लागि बन्देज लगाएको तेस्रो मुलुकमा जान लागेको अवस्थामा महिलाहरुको उद्धार गरी नेपाल ल्याइएको उनले बताए। उनीहरु इराक, कुवेत लगायतका मुलुकमा जाने तयारीमा थिए। नेपाल फर्काइएका महिला अधिकांश २१ देखि ३५ वर्षसम्मका छन्। उद्धार गरी ल्याइएका २५ जना महिलालाई माइती नेपाल, ५–५ जनालाई केआई नेपाल र थ्रि एन्जेल्सको आवासगृहमा राखिएको प्रहरीले जनाएको छ।
नेपाली महिलालाई खाडी मुलुक र श्रीलंकामा बेचबिखनका लागि लैजान थालिएको अवस्थामा उनीहरुको उद्धार गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले ट्विट मार्फत जानकारी दिएकी थिइन्। उनले नेपाली महिलालाई स्वास्थ्य परीक्षण र अन्य जाँचका लागि पहाडगन्ज प्रहरीले यातना दिएको भन्दै आक्रोश समेत पोखेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।