काठमाडौं– नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपाका नेता तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजी) ध्रुववबहादुर प्रधानले अग्रता बनाएका छन्।
५ हजार ३६९ मतका साथ अग्रस्थानमा रहेका प्रधानलाई कांग्रेसका देवेन्द्रराज कँडेलले १ हजार ८ सय १५ मतका साथ पच्छ्याइरहेका छन्। अहिलेकै अवस्थामा अघि बढे प्रधान चौथो पटकको चुनावमा सफल हुने देखिन्छ। उनी यसअघि पनि नवलपरासीबाटै तीन पटकसम्म चुनावी मैदानमा उत्रिसकेका व्यक्ति हुन्।
आईजी भएको ३६ दिनमै सरकारले २०५३ चैतमा अच्युतकृष्ण खरेललाई हटाएर धु्रबबहादुर प्रधानलाई आईजी बनाएको थियो । त्यसविरुद्ध खरेल सर्वोच्च अदालत गएका थिए । अदालतको आदेशमा पुनः २०५४ मंसिरमा प्रधानलाई हटाएर खरेल आईजीपी भए ।
अदालतको आदेशपछि आईजीबाट हटेर ध्रुबहादुर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए । सल्लाहकारबाट राजीनामा दिएर उनी २०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी–४ बाट चुनाव लडेका उनले हार बेहोरे। २०६४ र २०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्।
प्रत्यक्ष निर्वाचनमा पटक–पटक हार बेहोरेका उनी २०७४ को चुनाव भने राप्रपाको समानुपातिक सूचीमा बसे। तर, ३ प्रतिशत थ्रेसहोल्डका कारण सांसद बन्ने उनको सपना पूरा हुन सकेन।
पटक–पटक असफलता ब्यहोरेका पूर्वआईजी प्रधान संसद् छिर्ने सपनासहित यो पटक फेरि राप्रपाबाट उम्मेदवारी दिएका छन्। उनले उनी आफ्ना निकटतम प्रतिस्पर्धी कँडेलभन्दा ३ हजार ५ सय भन्दा बढी मतले अघि छन्। यही अवस्थालाई कायमै राख्दै अघि बढेमा चौथो पटकको प्रयासमा प्रधानको संसद् छिर्ने सपना पूरा हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।