काठमाडौं- उनले किशोरअवस्थामै सन् २०१८ को विश्वकपलाई यादगार बनाए। तर, ४ वर्षपछि कतारसम्म आइपुग्दा उनको चरित्रलाई लिएर बारम्बार प्रश्न उठेका छन्।
केलियन एमबाप्पे, निर्विवाद रूपमा विश्व फुटबलका सुपरस्टार हुन्। उनलाई यो कुरा थाहा छ। र, भविस्यमा सुपरस्टार बन्ने अभियानमा अझै सक्रिय छन्। उनले सानैदेखि राम्रो करिअरको योजना बुने। हालै एक विदेशी अखबार आरएमसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मलाई थाहा छ, म के गर्न चाहन्थें। त्यसैले अरूले मलाई अशान्त तुल्याओस् भन्ने चाहदिन्थें।’
एमबाप्पेले जति नै आफ्नो चर्चा गरे पनि पछिल्लो दुई वर्षयता उनको व्यवहारलाई लिएर फ्रान्समा निकै चर्चा छ। सन् २०२० को युरो कपमा निर्णायक पेनाल्टीको अवसर गुमाएपछि उनको भूमिकालाई लिएर बहस छेडिएको थियो।
एमबाप्पेले युरोकपमा एउटा पनि गोल गरेनन् र फ्रान्स अन्तिम १६ बाट बाहिरियो। उनको त्यो पेनाल्टी नि:सन्देह सामान्य स्पट–किक थिएन। यही कारण हुनसक्छ, उनको विषयमा यति धेरै प्रश्न उठेको। उनका आलोचकहरू खेलको तुलनामा उनलाई पैसा बढी भएको र यसले उनलाई मात लागेको आरोप लगाउने गर्छन। धेरैको मत छ–परिस सेन्ट जर्मेनका यी सुपरस्टारको कथित अहंकारको मूल्य अहिल फ्रान्सले चुकाइरहेको छ।
युरो कपबाट फ्रान्सको छिटो बर्हिगमनका कारण एमबाप्पेले रंगभेदी दुव्र्यवहार पनि सहनुपर्यो। यसले उनलाई मर्माहत पनि तुल्यायो। त्यो घटना सम्झिँदा अहिले पनि निरास हुने एमबाप्पे भन्छन्, ‘मैले पाएको सन्देश के थियो भने मेरै अहंकारले हामी हार्यौं।’
आफ्नो कटु आलोचना भएपछि एमबाप्पे राष्ट्रिय टोलीबाट सन्यास लिने विचारमा पुगिसकेका थिए। ‘मैले फ्रान्सको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेबापत एक युरो पनि लिएको छैन। म सधैं राष्ट्रिय टोलीका लागि सित्तैमा खेल्न तयार छु,’ उनी भन्छन्, ‘सबैभन्दा ठूलो कुरा म कहिल्यै पनि समस्या बन्न चाहन्न।’
उनले त्यतिबेला पनि स्पष्ट पारेका थिए– फ्रान्सेली टोली उनीबिना खुसी छ भने राष्ट्रिय टोलीबाट बाहिरिन तयार छन्।
तर, फ्रेञ्च फुटबल संघका अध्यक्ष नोयल ले ग्रेटलाई राम्रोसँग थाहा थियो, एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीभन्दा बाहिर खुसी हुन सक्दैनन्। अध्यक्ष नोयलले एमबाप्पेको दु:खेसो सुने र आश्वस्त पार्न खोजे– अगाडि सबै कुरा ठिक हुँदै जानेछ।
नोयलले एउटा अन्तर्वार्ताको क्रममा ‘जर्नल डु डिमाञ्चे’ सँग भनेका थिए, ‘तपाईंहरूलाई थाहा छ– यो कस्तो खाल्को छ? सुरुमै बाहिरिनु परेपछि (युरोकप) हामी जस्तै उ पनि निरास भएको थियो।’
नोयलले एमबाप्पेको विषयमा जति नै प्रभावकारी कुरा गरे पनि उनी आफ्नै व्यवहारले टाढिएका छन्। विगत एक वर्षमा २३ वर्षीय यी स्ट्राइकरले आफ्नो व्यवहारमा धेरै सुधार ल्याउन जरुरी देखिन्छ।
पीएसजी क्लबको परियोजनाअन्तर्गत एमबाप्पेलाई प्रमुख आधारशीला बनाइएको थियो। यसले पार्क डेस प्रिन्सेसमा एमबाप्पेको प्रभाव बढ्दा ड्रेसिङ रूममा ठूलो विभाजन देखिन्थ्यो। ड्रेसिङ रूममा एउटा कुनामा एमबाप्पे बस्थे भने अर्को कुनामा नेइमार।
यसको असर मैदानमा पनि देखियो। स्पट–किक प्रहार गर्न नदिएपछि नेइमार लज्जीत मुद्रामा फर्किएको दृश्य वास्तवमै नमिठो थियो।
मैदानबाहिर पीएसजीको रणनीतिक सेटअपमा उनले पोखेको असन्तोष सोसल मिडियाका पोस्टहरूमा यत्रतत्र देखिन्छ। उनको यो व्यवहार चित्त नबुझेपछि प्रशिक्षक क्रिस्टिोफ गाल्टियरले कुटनीति प्रयोग गर्नुपरेको थियो।
एमबाप्पेको प्रमुख समस्या भनेको फ्रान्सले पीएसजी जस्तो नखेलोस् भन्ने नै हो। फ्रेञ्च टोलीमा उनीसँगै खेल्नका लागि पीएसजी जस्तै ठूलो खेलाडी छैनन्। त्यसैले उनी पीएसजीबाट खेल्दाझैं स्वतन्त्रतपूर्वक खेल्न सक्दैनन्।
अहिले फ्रेञ्च टोलीमा करिम बेन्जेमाले चोट बोकेका छन्। विश्वकपमा बेन्जेमाको बर्हिगमनले फेरि एक पल्ट एमबाप्पेको चर्चा चुलिएको छ।
चार वर्षअघि रुसमा विश्वकप खेल्न जानुपूर्व म्याथ्यु भाल्बुएनासँग यौन काण्डमा मुछिएपछि बेन्जेमा फेञ्च टोलीबाट बाहिरिएका थिए। उनको स्थानमा फ्रान्सले १६ वर्षका किशोर युवा खेलाडी एमबाप्पेलाई मौका दिएको थियो। त्यतिबेला एमबाप्पेले पेलेको कीर्तिमानलाई भंग गर्दै सबैभन्दा कम उमेरमा गोल हान्ने कीर्तिमान रचे।
तर, अहिले अवस्था त्यस्तो छैन। एमबाप्पे कहिले काहिँ उत्कृष्ट लयमा देखिन्छन्। कहिले काहिँ खेल्न योग्य नै देखिदैनन्। यति धेरै सम्भावना बोके पनि आश्चर्यजनक रूपमा उनले आफूलाई विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी प्रमाणित गर्न सकिरहेका छन्, विशेषत पछिल्लो एक वर्षयताको खेल हेर्दा। विवादले पनि उनलाई छोडेको देखिदैन।
तर, बेन्जेमाको बर्हिगमनले फ्रान्स टोलीमा फेरि एमबाप्पेको पक्षमा वातावरण तयार भएको छ। तर, रियल म्याड्रिडका ओलिभर जिरुडसँग उनको समस्या छ। एमबाप्पेले यसलाई सार्वजनिक रूपमै स्विकार गरिसकेका छन्।
यस्तो अवस्थामा प्रशिक्षक डेसच्यापले एमबाप्पेलाई कुन भूमिकामा अगाडि उतार्लान, यसले फ्रान्सको विश्व कप विजयको दशा र दिशा निर्देश गर्नेछ।
–एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।