काठमाडौं– सुपर स्टार लियोनल मेस्सी अहिले महान क्षणमा छन्। किनकी यो विश्वकपलाई अन्तिम बनाउने उनको तयारी छ। ३५ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि पाँचौं विश्वकप खेल्दैछन्।
पाँचौं विश्वकप खेल्दै गर्दा उनी मंगलबार साउदी अरेबियाविरुद्ध मैदानमा उत्रिँदैछन्। सातौं बालोन डिओर विजेता मेस्सीले अहिलेसम्म विश्वकपको ट्रफी उचाल्न पाएका छैनन्। सन् २०१४ को विश्कपको फाइनल पुगेर पनि ट्रफी उचाल्न चुकेका मेस्सी आफ्नो अन्तिम विश्वकप यादगार बनाउँदै बिदाई हुने क्षणमा छन्।
मेस्सी भन्छन्, ‘सम्भवत: यो मेरो अन्तिम विश्वकप हुनसक्छ। मेरो ठूलो सपना पूरा गर्ने यो अन्तिम र सुनौलो मौका हो। त्यसका लागि मेरातर्फबाट सबै दिनेछु।’
पीएसजीका फरवार्ड मेस्सीले क्लबमा प्रतियोगिता भइरहँदा पनि आफूले कुनै विशेष शारीरिक तयारी नगरेको र आफू अहिले पनि फिट रहेको बताएका छन्।
‘शारीरिक रुपमा म धेरै ठिक छु। म अहिले महत्त्वपूर्ण क्षणमा छु। व्यक्तिगत रुपमा र शारीरिकरुपमा मेरो कुनै समस्या छैन। जसकारण टिमका साथीहरुबीच पनि हल्का मात्रै ट्रेनिङ गरेको छु,’ उनले भने, ‘मैले सुनेको छु कि अरुले मलाई फरक तरिकाले तालिम गरेको भनिरहेका छन्। तर त्यस्तो केही होइन, यो एउटा सामान्य सावधानी हो।’
मेस्सीसँग क्लबका नगण्य ट्रफीहरु छन्। तर अन्तर्राष्ट्रिय ट्रफी भने उनले गत वर्षमात्रै ‘कोपा अमेरिका’मा ब्राजिललाई हराएर चुमे। ‘यो सुन्दर चिज थियो। त्यो अर्जेन्टिना मात्रै होइन, अन्य व्यक्तिले पनि चाहेका थिए। विशेषगरी मेरा लागि कोपा च्याम्पिन विशेष रह्यो’ विश्वकपको पूर्वसन्ध्यामा मेस्सीले भने, ‘मेरो करियरमा मैले संसारभरीबाट पाएको मायाका लागि कृतज्ञ छु। र यो कतार त्यसको अर्को उदाहरण हो।’
उनले कोपा अमेरिका कपको जित नै अहिलेको विश्वकप जितका लागि उर्जा भएको बताएका छन्। साथै नतिजाको चिन्ता नगरी फरक तरिकाले अघि बढ्ने मेस्सीले बताए।
‘मलाई थाहा छैन कि हामी अन्य विश्वकप भन्दा राम्रो गर्न सक्छौं। तर हामीले भखरै जितेको कोपा अमेरिकाले हामीलाई धेरै उर्जा थपेको छ’, मेस्सीले भनेका छन्, ‘यसले हामीलाई नतिजाको बारेमा चिन्ता नगरी फरक तरिकाले अघि बढ्न सहयोग गर्नेछ।’
अर्जेन्टिना रहेको समूह ‘सी’ मा साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन्। अर्जेन्टिनाले आज पहिलो खेल साउदी अरेबियासँग खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।