काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहेको छ। सोमबार बेलुकीसम्मको मत परिणामले पार्टीको आकारका विषयमा स्पष्ट चित्र देखाइसकेको छैन। तर केही संकेत भने गरिसकेको छ।
कांग्रेसबाट मुस्ताङमा २८ वर्षीय योगेश गौचन थकाली निर्वाचित भए। जुन यसपल्ट मतदाताको रुझान युवातर्फ रहेको विम्बसमेत बनेको छ। प्रारम्भिक परिणामले स्पष्ट रुपमा दुई कुरा बताएको छ। पहिलो, गठबन्धन अस्वीकार। दोस्रो, नयाँ पार्टी र उम्मेदवारलाई अवसर।
नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पाँच दलले गठबन्धन गरेर चुनाव लडेका थिए। तर, गठबन्धनको बल निर्वाचनको परिणाममा भने देखिएन। काठमाडौं उपत्यकाले गठबन्धनलाई पूर्णत: अस्वीकार गरेको देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपत्यकामा अनपेक्षित परिणाम हासिल गरिरहेको छ। उक्त पार्टी हालसम्म ९ स्थानमा अघि देखिएको छ। धेरै ठाउँमा प्रतिष्पर्धा गरिरहेको छ।
काठमाडौंमा पनि १० मध्य क्षेत्र नम्बर २ र ६ मा अग्रता लिइरहेको छ भने क्षेत्र ७ र ९ मा प्रतिष्पर्धा गरिरहेको छ। यसैगरी ललितपुर ३ मा अग्रता लिइरहेको छ। कास्कीका दुई क्षेत्रमा अग्रता छ।
यता गठबन्धनबाट नेपाली कांग्रेसले क्षेत्र नं ४, ५ र १० मा अग्रता लिएको छ। माओवादी केन्द्रको भागमा परेका काठमाडौं २, काठमाडौं ९ र काठमाडौं ७ सवैमा पछि परेको छ। यसैगरी एकीकृत समाजवादीले प्राप्त गरेको काठमाडौं ८ मा पनि तेस्रो नम्बरमा पुगेको छ।
ललितपुरमा सत्ता गठबन्धनका तीनै दलले एक-एक सीट बाँडेका थिए। तिनै दल पछि परेका छन्। दुईटामा एमाले र एकमा स्वतन्त्र पार्टीको अग्रता छ।
देशका अन्य क्षेत्रमा स्वतन्त्र पार्टी देशका अन्य सहरहरु चितवन, पोखरा, रुपन्देही, झापालगायतमा पनि कहीँ अग्रता र कहीँ चुनौती दिइरहेको छ।
प्रारम्भिक मतगणनामा एमालेले औसत परिणाम हासिल गरिरहेको छ। एमालेले अहिलेसम्म १६ ठाउँमा अग्रता लिइरहेको छ। त्यसैगरी कांग्रेसले १७ ठाउँमा अग्रता र एकमा जित निकालेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी जम्मा दुई-दुई ठाउँमा अघि देखिएका छन्।
जबकी राष्ट्रिय स्वतन्त्र पार्टी ७ जना अघि देखिएका छन्। त्यही हाराहारीमा प्रतिष्पर्धा गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन ठाउँमा अग्रता लिएको छ।
यसैगरी सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले कैलाली १ र ३ मा अग्रता लिइरहेको छ। प्रदेश खारेजी र हिन्दु राष्ट्रको अजेन्डा सहित चुनावी मैदानमा गएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सन्तोषजनक सिट हासिल गर्ने देखिएको छ। राप्रपाले माओवादी केन्द्रसँग बराबरी अर्थात् ४ सिटमा अग्रता लिइरहेको छ।
पूर्वी तराईबाट सिके राउतले संसद्मा प्रतिनिधित्व जनाउने संकेत गरेका छन्। पश्चिम तराईबाट राष्ट्रिय जनमुक्ति पार्टीले हालसम्म दुई सिटमा अग्रता लिइरहेको छ।
प्रभावशाली नेता नै पछाडि
प्रभावशाली नेताहरु नै पछाडि निर्वाचनमा प्रभावाशाली नेताहरु नै पछाडि देखिएका छन्। जनता समाजवादी पार्टीका उपेन्द्र यादव जनमत पार्टीका सिके राउतसँग फराकिलो मतान्तरले पछि परेका छन्।
नेपाली कांग्रेसका प्रभाशाली नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, सहमहामन्त्री किशोरसिंह राठोर पछि परेका छन्। निवर्तमान सभामुख ओनसरी घर्ती तेस्रो नम्बरमा पुगेकी छिन्। मानुषी यमी भट्टराई पनि सुरुदेखि नै तेस्रो स्थानमा छिन्।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन्। त्यसैगरी उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ र महासचिव शंकर पोखरेल पनि प्रारम्भिक मत परिणाममा पछि छन्।
चुनावको मुखमा नेकपा एमाले छाडेर सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका घनश्याम भुसाल पनि पछि परेका छन्। पार्टीले राम्रो नतिजा देखाइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकै अध्यक्ष रवि लामिछाने प्रारम्भमा पछि परेको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।