काठमाडौं- फ्रान्सको राष्ट्रिय टोलीका फरवार्ड करिम बेन्जिमाले विश्वकप गुमाएका छन्।
चोटका कारण उनले विश्पकप गुमाएका हुन्। प्रशिक्षणको क्रममा तिघ्रामा चोट लागेपछि फ्रान्सका मुख्य फरवार्ड बेन्जिमा फ्रान्सेली टोलीबाट बाहिरिए।
एमआरआई गर्दा तिघ्राको मांसपेशीमा ठूलो चोट लागेको र पूर्ण रुपमा ठीीक हुन तीन साता लाग्ने रिपोर्ट आएको फ्रान्स फुटबल महासंघले जनाएको छ।
रियल मड्रिडलाई ला-लिगा र च्याम्पियन्स लिग जिताएका बेन्जिमा सन् २०२२ को बालोन डिओर विजेता समेत हुन्। उच्च लयमा रहेका बेन्जिमालाई गुमाउनुपर्दा फ्रान्सेली टीमलाई ठूलो क्षति पुग्नसक्ने आँकलन गरिएको छ।
फ्रान्स समूह ‘डी’ मा छ। फ्रान्सले आफ्नो पहिलो खेल २२ नोभेम्बरमा अष्ट्रेलियासँग खेल्नेछ। २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ। फ्रान्सका लागि ९७ खेल खेलेका बेन्जिमाले ३७ गोल गरेका छन्।
बेन्जिमा घाइते भएसँगै विश्वकपमा फ्रान्सलाई एकपछि अर्को धक्का लागेको छ। यसअघि मिडफिल्डर पाउल पोक्बा र कोन्टे घाइते भएका थिए। उता म्यानचेस्टर युनाइटेमा आबद्ध रहेका डिफेन्डर राफायल भारानले क्लबका पछिल्ला पाँच खेल गुमाएका थिए।
पूर्ण फिट हुन अहिले पनि उनी संघर्षरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।