काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद व्यवस्थापन विभागका अधिकारीहरुलाई जोखिम नक्साङ्कनको काम तत्काल थालनी गर्न आग्रह गरेकी छन्। बिहीबार उनकै कार्यकक्षमा विभागको जिम्मेवारीमा परेका काम र त्यसको प्रगतिका विषयमा जानकारी लिँदै यस्तो आग्रह गरेकी हुन्।
‘सहरको अवस्था र विशेषता जान्नका लागि जोखिम अवस्थाको सूचना प्राथमिक सूचक हो। यसका विषयमा हामीलाई थाहा हुनुपर्छ,’ उनको भनाइ थियो।
‘सहरमा रहेका पेट्रोल पम्पहरु र ग्याँस डिपोहरु सम्भावित ठूलो दुर्घटनाको माध्यम बन्न सक्छन्। यी सामग्री भण्डारण तथा वितरणका लागि मापदण्ड आवश्यक छ। अहिले पम्प र डिपो आसपासका नागरिक सम्भावित विपदको त्रासमा छन्,’ उनले भनिन्, ‘वडास्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय पारेर समुदायस्तरीय क्षमता विकास, सचेतना र सहभागिताका कार्यक्रमलाई बढाउनुपर्छ।’
छलफलमा काठमाडौँ महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र, (एमईओसी) को कार्यस्थललाई व्यवस्थापन गर्ने, अग्नि नियन्त्रणका लागि बालाजु स्टेसन सञ्चालनमा ल्याउने, रामहिटी स्टेसनमा तालिमका कार्यक्रम बढाउने, भित्री सहरी क्षेत्रमा टेकाले अड्याइएका घरहरुको जोखिम व्यवस्थापन गर्ने, दमकल जान नसक्ने गल्लीहरुमा फायर हाइड्रेन्डको नक्साङ्कन र लागतअनुमान तयार पार्ने लगायत कामका विषय थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।