काठमाडौं–रातको समयमा मोबाइल पसल फुटाई चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा गोरखाको गण्डकी नगरपालिका–५ घर भई बुढानीलकण्ठ बस्दै आएका २४ वर्षीय सुरेश गिरी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ घर भई बुढानिलकण्ठ नै बस्दै आएका २२ वर्षीय गणेश क्षेत्री छन्।
उनीहरुले गत माघ १८ गते राति काठमाडौं विशालनगरस्थित सुरज इलोक्ट्रोनिक्स मोबाइल पसलबाट मोबाइल चोरी गरेका थिए। पसलको पछाडिको झ्याल फुटाई विभिन्न कम्पनीका नयाँ ३७ थान मोबाइल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी मर्मतका लागी राखिएका मोबाइल१५ थान, गितार १ थान तथा स्मार्ट घडी २५ थान गरी अन्दाजी १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको सामान चोरी गरेको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
चोरी भएका मध्ये उनीहरुबाट सिलप्याक ८ थान मोबाइल, पुराना मोबाइल ५ थान, स्मार्ट घडी ६ थान, गितार १ थान र पावर बैंक १ थान बरामद भएको छ। उक्त सामानसहित उनीहरुलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।