काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाजुराले हत्या गरी फरार रहेका एक प्रतिवादीलाई ३१ वर्षपछि पक्राउ गरेको छ।
लुकिछिपी बस्दै आएका बाजुराको खप्तडछेडदह गाउँपालिका २ बस्ने मिनबहादुर सिंहलाई पक्राउ गरेको हो। उनलाई कैलालीको धनगढीस्थित सन्तोषी टोलबाट पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी चर्तुभुज ओझाले जानकारी दिए।
पक्राउ परेका सिंहलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
२०४८ असोज ६ गते हत्या गरि फरार रहेका सिंहविरुद्ध ०५४ भदौ २५ मा तत्कालीन पुनरावेदन अदालत दीपायलले जन्म कैदको फैसला गरेको थियो। सोही मुद्दामा ०५७ असार २८ मा सर्वोच्च अदालतले १० वर्ष कैद सजायको फैसला गरेको थियो।
अदालतको फैसलादेखि नै उनी लुकिछिपी बस्दै आएका थिए। ३१ वर्षअघि बाजुराका जगतबहादुर सिंह र शंकर धामीबीच चौपायले खेतबारी नोक्सान गरेको विषयमा विवाद भएको थियो।
सो क्रममा जगतबहादुर सिंह समेतका १२/१४ जनाको समूहले धामीलाई कुटपिट गरिरहेकै अवस्थामा प्रतिवादी मिनबहादुर सिंहले भैसी बाँध्ने काठको किलोले धामीको टाउकामा हानेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।