काठमाडौं- नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवाका लागि गरिएको सिफारिस विरुद्ध संसदीय समितिमा उजुरी परेको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार एआइजीमा बढुवाका लागि गरिएको सिफारिस विरुद्ध उजुरी परेको हो।
कुनै निश्चित व्यक्तिलाई मात्र लाभ हुने गरी ओएन्डएम मार्फत दरबन्दी सिर्जना गरिएको भन्दै त्यसलाई रोक्न माग गर्दै उजुरी परेको समितिकी सचिव वविता मिश्रले जानकारी दिइन्।
मंसिर १० गतेको मन्त्रिपरिषद् बेठकले प्रहरीको संठगन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पास गर्दै थप एक एआइजी पद सिर्जना गरेको थियो। सो पदमा बढुवाका लागि मंसिर १५ गते गृह मन्त्रालय अन्तर्गतको प्रहरी बढुवा सिफारिस समितिको बैठकले विश्वराज पोखरेललाई सिफारिस गरेको थियो।
पोखरेल एआइजी भए प्रहरी महानिरीक्षक (आइजी) बन्नका लागि एकल दाबेदार बन्नेछन्। हालका आइजी शैलेश थापा क्षेत्रीसँगै एआइजीहरू पनि अनिवार्य अवकाशमा जाने भएकाले पोखरेल त्यसबेला आइजीका एकल दाबेदार बन्ने भएका हुन्।
यसरी कुनै निश्चित व्यक्तिलाई मात्र लाभ हुने गरी प्रहरीमा बढुवा गर्न नहुने जिकीर उजुरीमा गरिएको छ। उजुरीका सम्बन्धमा अब संसदीय समितिले प्रक्रिया अघि बढाउने समितिले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।