फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन्।
पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति नेकपाभित्र असन्तुष्टि बढ्दै गइरहेका बेला ओलीले नेता नेपाल भेट गरेपछि सोमबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालबीच खुमलटारमा भेट भएको हो।
भेटमा स्थायी कमिटी बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको बताइएको छ। यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएलगत्तै नेपाल र ओली समूहको बैठक कोटेश्वरमा चलिरहेको छ।
सो बैठकमा दुवै पक्षका चार चार जना सहभागी भएको बताइएको छ। ओलीपक्षबाट छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता रहेको स्रोतको भनाइ छ।
नेपाल पक्षका स्थायी कमिटीको आइतबारको बैठकले प्रधानमन्त्रीसँग समझदारीको योजना तथा रणनीति बनाउने जिम्मा नेपाललाई दिएको थियो। आइतबार साँझ नेपाल पक्षको भेला नेपाल निवासमा नै भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।