काठमाडौं- तत्कालीन समाजवादी पार्टीका सांसद एवम् पूर्व स्वाथ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरिएको भन्दै उनकै पार्टीबाट प्रचार गरियो।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले सांसद यादवलाई महोत्तरीस्थित उनकै घर पुगेर काठमाडौंमा ल्याएको स्वीकार गरे।
अपहरण गरेको उनीहरुले अस्वीकार गरे पनि सांसद यादवले मिडियामा आफूलाई अपहरण गरेको अर्थ लाग्नेगरी बयान दिए। उनको पार्टी साजवादीका नेताहरु बाबुराम भट्टराई र विश्वदिप पाण्डेले त्यसलाई अपहरणकै रुपमा प्रचार गरे पनि सुरुमा कानुनी उपचार खोज्न आनाकानी गरे।
कानुनी उपचार खोज्न परेको चौतर्फी दबाबपछि आइतबार नवगठित पार्टी जनता समाजवादी नेपालका शीर्ष नेताहरु भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महत्तो, राजेन्द्र श्रेष्ठ, शरदसिंह भण्डारीलगायत टेकुस्थित प्रहरी परिसरमा जाहेरी दिन आए।
तर प्रहरीले दुई सांसद र पूर्व प्रहरी प्रमुखविरुद्ध जसपाले दिन खोजेको जाहेरी दर्ता गर्न मानेन्। परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीको अनुपस्थितिमा सुरुमा त्यहाँका एसपी र डिएसपीले दुई कारण देखाउँदै जाहेरी लिन मानेनन्। पहिलो, महोत्तरीबाट सांसद यादवलाई ल्याएको भन्दै जाहेरी उतै दर्ता गनुपर्ने र दोस्रो, कार्यालय प्रमुख नभएकोले आफूले जाहेरी अगाडि बढाउनेबारे निर्णय लिन नसक्ने।
मेट्रोबाट भर्खरै परिसर सरुवा भएका एसएसपी ज्ञवालीले कार्यभार सम्हालिसकेका थिएनन्। जसपा नेताहरुले करीब एक/डेढ घण्टा कुरेपपछि आजै कार्याभार सम्हाल्ने भनिएका एसएसपी ज्ञवाली आइपुगे। ज्ञवालीले पनि अघिकै तर्क दोहोर्याउँदै जाहेरी दर्ता गर्न अस्वीकार गरे।
तर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी महोत्तरीबाट सांसद यादवलाई उठाएर ल्याएको भए पनि यो घटनाले पूर्णता काठमाडौंमै पाएकाले जाहेरी दर्ता गर्न बाहिर जानु नपर्ने बताउँछन्। ‘महोत्तरीबाट उठाएर ल्याए पनि यो घटनाले पूर्णता पाएको यहाँ (काठमाडौंं)मै हो,’ त्रिपाठी भन्छन्, ‘मेरियट होटेलमा भएको हो, त्यो काठमाडौं जिल्लाभित्रै पर्दछ। यहीँको क्षेत्राधिकार पर्दछ।’
त्रिपाठी यस्तो घटनाको जाहेरी नदिँदा पनि प्रहरीले छानविन गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘कुनै पनि जाहेरी ल्यापछि प्रहरीको कर्तव्य हो–त्यसलाई दर्ता गर्ने र विश्वसनीय छानविन गर्ने। यो कानुनले नेपाल प्रहरीलाई तोकेको दायित्व हो। यत्रो घटनालाई त प्रहरी आफैंले छानविन गर्नुपर्ने हो तत्कालै। त्यसका लागि जाहेरी नै कुर्नुपर्दैन।’
अब प्रश्न उठ्छ- महानगरीय प्रहरी परिसरले ‘सांसद अपहरण’को जाहेरी लिन नमानेपछि जसपाले यसलाई कसरी अगाडि बढाउँछ? के कानुनी उपचार खोज्ने बाटो सकियो त?
कानुनी उपचार खोज्नलाई अझै पनि जसपासँग दुई विकल्प छ। एउटा, प्रहरीले नै भनेझैं महोत्तरी गएर जाहेरी दिने। अर्को, त्यसलाई सिधै न्यायालय प्रवेश गराउने। अर्थात् प्रहरीले जाहेरी लिन नमानेको भन्दै काठमाडौंमै सरकारी वकिलको कार्यालयमा जाहेरी दिने।
जाहेरी दर्ता नभएपछि संवाददाताहरुसँग दिएको प्रतिक्रियामा जसपा नेता भट्टराईले अब के गरिन्छ भन्ने प्रष्ट कुनै संकेत दिएनन्। ‘बहालवाला प्रतिनिधिसभाका संसादलाई सरकारको कार्यकारी प्रमुखको निटक रहेका मानिसहरु र पूर्व प्रहरी प्रमुखको संलग्नतामा जुन अपहरण जस्तो जघन्य प्रकृतिको घटना घट्यो, त्यो स्वतः नै हाम्रो कानुनअनुसार सरकारवादी मुद्दा बन्छ,’ भट्टराईले भने, ‘यति चर्चा परिचर्चा गरेपछि यसबारे कुनै जाहेरी नलिइकन सामान्यतया राज्य आफैंले यो विषयमा मुद्दा अघि बढाउन सक्छ। आफ्नो कुरा सम्बन्धित ठाउँमा राख्दैछौं। त्यसैले हामी बढी तर्क वितर्क नगरिकन हाम्रा कुरा राखेर जादैछौं।’
नेता भट्टराईले ‘आफ्नो कुरा सम्बनिधत ठाउँमा राख्दैछौं’ भन्ने आफ्नो भनाइलाई थप व्याख्या गर्न चाहेनन्।
नेता भट्टराईले अब कसरी अघि बढिन्छ भन्ने प्रष्ट छनक नदिए पनि उनकै पूर्व दल समाजवादी पार्टीका सह प्रवक्ता विश्वदिप पाण्डेले त्यसको संकेत दिएका छन्।
अब जसपा कानुनी उपचार खोज्ने भन्दा पनि यसलाई अब राजनीतिक मुद्दा बनाउँदै अघि बढ्ने पाण्डेको संकेत छ। ‘प्रहरीले जाहेरी लिन मानेन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘अब किटानी जाहेरी नेपाली जनताकोमा दिने हो। बाँकी फैसला अब जनअदालतले गर्छ। ओली! गुण्डागर्दी हद भो, अब कत्ति पनि ढिला नगरी ओलीलाई बिदा गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।