काठमाडौ- नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो निवास कोटेश्वरमा आफू निकट स्थायी कमिटी सदस्यहरुलाई बोलाएर छलफल गरेका छन्। राजनीतिक दलसम्बन्धी अध्यादेश र सैद्धान्तिक नियूक्तिसम्बन्धी अध्यादेश फिर्तालगायत पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर परामर्श गरिएको बैठकमा सहभागी एक सदस्यले बताए।
‘अध्यादेश र सरकारका काम कारवाहीका सम्बन्धमा फोनमा मात्रै कुराकानी भइरहेको थियो। भेटेर राम्रोसँग छलफल गरौं भन्ने भयो भेटियौं।’ माधव नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘हामीले स्थायी कमिटी बैठक माग गरेका थियौं। अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठक टार्न खोज्दै हुनुहुन्छ। यदि बैठक नबोलाएको खण्डमा के गर्ने भन्ने विषयमा छलफल भयो।’ यदि अध्यक्ष ओलीले स्थायी कमिटी बोलाउन नमानेको अवस्थामा के के विकल्प हुन सक्छ भन्नेबारेमा गम्भीर छलफल भएको ती स्थायी कमिटी सदस्यले बताए।
नेपालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा राखेका थिए। नेताहरुले एक एक गर्दै नेपाललाई सुझावसहित आफ्ना कुरा राखेका थिए। नेपालले आफूनिकट स्थायी कमिटी सदस्यसँग तीन घण्टाभन्दा धेरै छलफल गरेको बुझिएको छ। नेपालले काठमाडौंमा उपलब्ध भएका स्थायी कमिटी सदस्यलाई बोलाएर छलफल गरेका हुन्।
नेकपामा नेपाल समूहमा १३ जना स्थायी कमिटी सदस्य छन्। अध्यादेशलाई लिएर नेकपाका २० भन्दा धेरै स्थायी कमिटी सदस्यले अध्यक्ष ओली-प्रचण्डलाई नै पत्र लेखेर बैठक राख्न माग गरेका थिए। अहिले नेकपामा ओली समूह स्थायी कमिटी बैठक टार्दै आएको छ भने प्रचण्ड र नेपाल समूह बैठक राख्नुपर्ने माग राख्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।