काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज भएका छन्। अस्पतालले उनीहरुलाई आइतबार डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
यो सहित नेपालमा उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। आज वीरगञ्जबाट डिस्चार्ज भएका ४ जनामध्ये तीन जना भारतीय हुन्। एक जना नेपाली हुन्। उनीहरु चारैजना वीरगञ्जकै छपकैयाको मक्की जामे मस्जिदमा बस्दै आएका थिए ।
सरकारले प्रदेश नम्बर २ मा परीक्षणको दायरा थप बढाएको जानकारी दिएको छ। प्रदेशका ८ वटै जिल्लामा नमुना परीक्षणका लागि १ हजार २७ वटा नमुना संकलन भएका छन्। संकलित नमुनाहरूको परीक्षण जारी रहेको प्रवक्ता देवकोटाले बताए। सबैभन्दा बढी संक्रमित देखिएको उदयपुरबाट पछिल्लो पटक ३ सय ३७ जनाको नमुना परीक्षणका लागि संकलन भइरहेको छ।
आइतबारसम्मको ५१ हजार ३ सय ६७ वटा नमुना परीक्षण भएका छन्। जसमा पिसिआर विधिबाट ९ हजार ९ सय ३१ र आरडिटी विधिबाट ४१ जहार ४ सय ३६ वटा नमुना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा दुबै विधिबाट २ हजार ९६ वटा परीक्षण भएका छन्।
प्रदेश नम्बर १ मा ४ हजार ३ सय ८, प्रदेश नम्बर २ मा ५ हजार १ सय ४१ र बागमती प्रदेशमा ७ हजार ५ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ। यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय २४ प्रदेश नम्बर ५ मा ३ हजार ३ सय २६, कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ र सुदूरपश्चिम प्रदेशमा ११ हजार १ सय ७२ जनाको आरडिटी विधिबाट नमुना परीक्षण गरिएको छ । १७ हजार २५ जना अहिले क्वारेन्टाइनमा रहेका छन्।
काठमाडौं उपत्यकामा ६ र बाहिर १ सय ४ गरी १ सय १० जना अहिले आइसोलेसनम रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।