काठमाडौं- तत्कालीन स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव मेरुदण्डमा समस्या आएपछि वीर अस्पतातको बेडमा उपचार गराइरहेका थिए। राज्यका उच्च पदस्थहरूलाई सरकारी अस्पतालमा पुग्ने लाज लागेका बेला बहालवाला स्वास्थ्य राज्यमन्त्री डा यादव वीर अस्पतालमा उपचार गराउन गएका थिए। कार्तिक २९ गते अस्पताल भर्ना भएका उनलाई नशा रोग विशेषज्ञ डा राजीव झाको टोलीले उपचार गरेको थियो।
डा यादव अस्पतालमा उपचाररत रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा मन्त्रिपरिषद् पुनर्गठन गरे। समाजवादीका तर्फबाट सहभागीका भएका राज्यमन्त्रीसहित ३ जनाको जनामध्ये डा यादवले अस्पतालको बेडबाटै मन्त्री पद गुमाउनु पर्यो।

मेरुदण्डको समस्या भएपछि कार्तिक २९ देखि वीर अस्पतालमा उपचाररत डा यादव। उपचारकै क्रममा रहेका उनलाई मंसिर ४ गते प्रधानमन्त्री ओलीले स्वास्थ्य राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।
समाजवादीका पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवको समेत मन्त्रालय सरुवा गरिएको थियो। स्वास्थ्यबाट उनलाई कानुनमन्त्री बनाइएको थियो।
अस्पतालमा उपचाररत स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवसँग राज्यमन्त्री पद बर्खास्तीबारे प्रधानमन्त्री ओलीले छलफल गर्नु त आवश्यक ठानेनन् नै। उनको दललाईसमेत बाइकट गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। समाजवादीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव भारत भ्रमणमा रहेकै बेला कुनै छलफलसमेत नगरी उनको दलका डा यादवलाई बर्खास्त गरिएको थियो भने उपेन्द्रलाई कानुनमा पुर्याइएको थियो। उपेन्द्रले कानुनमा चित्त नबुझाएपछि समाजवादी पार्टी पनि सरकारबाट बाहिरिइसकेको छ।
000
कोरोना भाइरसको महामारी फैलन नदिन सरकाले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको छ। बैसाख १५ गतेसम्मका लागि लकडाउन जारी राख्ने सरकारको निर्णय छ। यो अवधिमा कसैलाई पनि घरबाट बाहिर निस्कन सरकारले छुट दिएको छैन। तर सरकारले नागरिकका समस्या समाधान गर्न भने कुनै पनि काम गरेन। गर्यो त औषधि बोकेका नागरिकमाथि अन्धाधुन्ध लाठीचार्ज गर्यो। उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीको परिचयपत्र हेरिसकेपछि पनि लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरिरहेको छ। विवादित अध्यादेश ल्याउने र मेडिकल सामग्रीमा भ्रष्टाचार गर्न ठेक्कापट्टाका मिसिल तयार गर्ने काम पनि गरिरहेको सार्वजनिक भएकै विषय हुन्। प्रधानमन्त्रीका सल्लाहकारहरू विभिन्न समाचार पोर्टल कब्जा गर्ने र धाकधम्कीका फोन कल गर्नै व्यस्त भए।
दल फुटाउन सजिलो पर्ने गरी ल्याइएको सरकारले ल्याएको अध्यादेशको पहिलो निशानामा परेको रहेछ समाजवादी पार्टी। प्रधानमन्त्रीकै सक्रियतामा समाजवादीका नेतासमेत रहेका डा सुरेन्द्र यादवालाई राज्यले अपहरणको शैलीमा महोत्तरीबाट उठाएर काठमाडौंको बालुवाटारसम्म भित्र्यायो। होटलमा कोचेर राजनीतिक प्रशिक्षण दियो। पार्टी फुटाउन उत्प्रेरित गर्यो। यद्यपि यो प्रयासले अहिले मूर्त रूप लिइहालेको बाहिर देखिएको छैन। बरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकताको सहमति भएको छ। उनीहरूले जनता समाजवादी पार्टीका रूपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दर्ता गराइसकेका छन्।
राज्यका तर्फबाट गरिएको 'अपहरण'मा सत्तारुढ नेकपा सांसद् महेश बस्नेत र किसन श्रेष्ठ सहभागी थिए भने पूर्वआइजिपी सर्वेन्द्र खनाल पनि। सर्वेन्द्र खनाललाई पनि पूर्वमन्त्रीको अपहरणमा प्रधानमन्त्री ओलीले प्रयोग गरे। संभवतः उनले ठूलै पद प्राप्त गर्दैछन्।
डा सुरेन्द्र यादवलाई राज्यले नै अपहरण गरेको समाजवादी पार्टीको धारणा छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने यो कुरा मान्न तयार छैनन्। 'आँखामा पट्टी नबाँधी मान्छे लैजाँदा कसरी अपहरण हुन्छ? काखमा राखेर घाँटी रेटेर मार्दा कसरी हत्या हुन्छ? कागजपत्र मिलाएर पैसा खाएको कसरी भ्रष्टाचार हुन्छ?,' डा भट्टराईले ट्विट गरेका छन्, 'ओलीतन्त्रका सन्डमुसन्डहरूले यस्तो कुतर्क गरिरहेका बेला डा.यादवका यी मनका कुरा सुनौं! राज्यको कसरी अपराधीकरण भैसकेको छ आफैंलाई सोधौं!'
समाजवादीले अपहरण भनेको सो क्रियाकलापमा भने अपहरण नगरिएको बरु बाटोमा मासुभात खुवाउँदै ललाईफकाई काठमाडौं ल्याइएको दाबी गर्न तारन्तार लागिरहेको छ। फोटोहरू सार्वजनिक गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।